Logo

ऋण तिर्न नपरोस् भनेर श्रेष्ठको फर्माले हानेर आफ्नै साथीले गरे हत्या



भक्तपुर, २२ मंसिर । भक्तपुरको बालकोटमा मंगलबार राष्ट्रिय युवा संघका जिल्ला सदस्य ३३ वर्षीय राजन श्रेष्ठको हत्या योजनाबद्ध तरिकाले गरेको तथ्य बाहिर आएको छ । घटनामा सम्लग्न २ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा उनकै नजिकका साथीहरु हेमन्त श्रेष्ठ र मजदुरी गर्दै आएका प्रेम विक रहेका छन् । उनीहरुले हनुमन्ते खोला नजिक श्रेष्ठसँग लिएको ऋण तिर्न नपरोस भनेर फर्माले हानेर श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ ।

हेमन्तले दिने पैसा दिन्छौ भन्दै गठ्ठाघरबाट लगेर फलामे पुल तरेपछि एकान्तमा लगेर कुटपिट गरे पछि पनि नपुगेर फर्माले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । स्थानियले कुटपिट गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

श्रेष्ठलाई तिर्नुपर्ने २ लाख रुपैयाँको विषयमा विवाद बढ्दै जाँदा घटना भएको प्रहरीको भनाई छ । सुर्यविनायक नगरपालिका–२ बालकोट नजिकै खाली जग्गामा बुधबार श्रेष्ठ मरणासन्न अवस्थामा फेला परेका थिए । उनको टाउकोमा गहिरो चोट लागेको छ । श्रेष्ठलाई उपचारको लागि अस्पताल लगेलगत्तै अस्पतालले मृत घोषणा गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्