Logo

उम्मेदवारको टुंगो लगाउन संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे



काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसकोे १४औं महाधिवेश भोलि शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेस महाधिवेशनमा सभापतिदेखि पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेसभित्रको संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे परेको छ ।

संस्थापन पक्षले उम्मेदवार छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार आफ्नो समूहको बैठक राखेको थियो भने संस्थापन इतर पक्षले बिहान बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्ड र दिउँसो ठमेलस्थित नेता प्रकाशमान सिंहको निवासमा बैठक राखेको थियो ।

तर, संस्थापन र इतर दुवैतर्फको बैठक उम्मेदवार कुनै टुंगो नै नलगाई बिनानिष्कर्ष सकिएको हो । संस्थापन समूहको बैठकमा सभापतिले पार्टीका लागि पदाधिकारी बन्न चाहनेहरूको राय लिएका थिए भने इतर पक्षको बैठकमा सभापतिका उम्मेदवारमा दाबी गर्दै आएका नेतात्रय रामचन्द्र पौडले, प्रकाशमान सिंह र डा शेखर कोइरालाबीच सहमति खोज्ने प्रयास भएको थियो ।

संस्थापन पक्षको बैठकले भने पदाधिकारी र सदस्य बन्न चाहने उम्मेदवारको राय लिएपछि आवश्यक छलफल र निर्णय गरी नाम सिफारिस गर्ने अधिकार सातै प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरूलाई जिम्मा दिएको संस्थापन इतर समूहबाट सहमहामन्त्रीको उम्मेदवार दाबी गर्दै आएका नेता मीन विश्वकर्माले भने ।

सो कामका लागि संस्थापन पक्षले सुदूरपश्चिममा एनपी साउन, कर्णाली पूर्णबहादुर खड्का, लुम्बिनीमा बालकृष्ण खाण, गण्डकीमा गोपालमान श्रेष्ठ, बाग्मतीमा प्रकाशशरण महत, प्रदेश २ मा रमेश रिजाल र प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मा दिइएको हो । यसैगरी, इतर पक्षको बैठकमा सहमतिको अवस्था नबनेपछि वरिष्ठ नेता पौडेलले भने पार्टीलाई कमजोर बनाएर आफू हेरेर बस्न नसक्ने भन्दै बैठकमै आक्रोश व्यक्त गरे ।

उनले सिंह र कोइराला दुवैलाई ‘कि मिल्नुस् कि छाड्नुस्’ भन्दै पटकपटक आग्रह गरेको बैठकमा सहभागी नेता अर्जुननर सिंह केसीले जानकारी दिए ।

सहमतिको वातावरण बन्नेभन्दा बिग्रनेतर्फ अघि बढेपछि वरिष्ठ नेता पौडेलले ‘त्यसो भए म राजनीति छाड्छु, तपाईंहरू चलाउनुस्, म घरमा बस्छु’ भन्दै झोक्किएको एक नेताले जानकारी दिए । सभापतिका अर्का आकांक्षी रहेका महामन्त्री डा शशांक कोइराला भने ब्याक भइसकेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot