Logo

सिटौला फकाउँदै पौडेल, सल्लाह गर्छुः सिटौला



काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसभित्र महाधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । महाधिवेशनको मिति नजिकिएसँगै सभापतिका आकांक्षीहरू शीर्ष नेताहरूको समर्थन खोज्न दौडधुपमा छन् ।

यस्तै, दौडधुप गर्दै बुधबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको चन्डोलस्थित निवासमा पुगे । सो क्रममा पौडेलले सिटौलालाई कांग्रेसले अब नेतृत्व परिवर्तन गरेर अघि बढ्नुपर्ने भन्दै एकपटक आफूलाई सहयोग गर्न आग्रह गरे ।

भेटमा सहभागी सिटौलानिकट नेता प्रदीप पौडेलका अनुसार पौडेलले सिटौलालाई आफू सर्वसम्मत रूपमा संस्थापन इतर समूहबाट सभापति बन्ने प्रयासमा रहेको भन्दै सघाउन आग्रह गरेका थिए ।

‘रामचन्द्र दाईले म सर्वसम्मत हुन्छु, मलाई सघाउनुस् भनेर भन्नुभयो तर सिटौला दाइले छलफल गर्छु, अहिले नै केही निर्णय छैन भन्ने जवाफ दिनुभयो,’ भेटवार्ताबारे जानकारी दिँदै पौडेलले भने ।

वरिष्ठ नेता पौडेल र सिटौलाबीच करिब आधा घण्टा महाधिवेशन केन्द्रित छलफल भएको सिटौलाका सहयोगी किरण सिटौलाले जानकारी दिए ।

वरिष्ठ नेता पौडेललाई कांग्रेस महामन्त्री डा शशांक कोइरालालेसमेतले समर्थन दिइसकेका छन् । तर, इतर समूहबाटै पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा। शेखर कोइरालाले अडान नछाड्दा संस्थापन इतर समूहले सभापतिको उम्मेदवार तय गर्न सकेको छैन ।

सिटौलाले भने यसअघि नै आफू टिमसहित महाधिवेशनमा अघि बढ्ने घोषणा गरेका थिए । उनले थप निर्णय भने गरिसकेका छैनन् । उम्मेदवार तय नहुँदा इतर समूहबाट पौडेल आफैं सभापतिको साझा उम्मेदवार बन्नेगरी अघि बढेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot