Logo

संस्थापनमा पनि अप्ठेरो



काठमाडौं, मंसिर २३ । संस्थापन पक्षबाट शेरबहादुर देउवा सभापतिको प्रत्याशी बन्ने निश्चित भए पनि अझै पदाधिकारीको टुंगो लाग्न सकेको छैन।

पदाधिकारीका आकांक्षी धेरै हुँदा देउवालाई उम्मेदवार टुंगो लगाउन समस्या भएको हो । पहिलो चरणमै निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न नेता कृष्णप्रसाद सिटौलासहित पक्षलाई आफ्नो टिममा समेटेर अघि बढ्ने देउवा रणनीति छ।

सिटौलासहित कांग्रेसका संस्थापन इतरका विभिन्न नेतासँग छलफल जारी राखे पनि निकट आकांक्षीहरू नै धेरै छन्। दुई उपसभापतिमा देउवा पक्षबाट उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्का आकांक्षी छन्।

तर देउवा सिटौला वा संस्थापन इतर समूहका नेताहरूलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा छन्। त्यसो हुँदा निकटहरूको व्यवस्थापनमा देउवालाई समस्या पर्नेछ । त्यस्तै दुई महामन्त्रीमा आधा दर्जन नेताले आकांक्षा राख्दै आएका छन्। सहमहामन्त्री प्रकाशशरण महत, नेताहरू बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद र विश्वप्रकाश शर्मा छन्।

उनीहरूमध्ये एकलाई खसआर्य समूहको सहमहामन्त्रीको उम्मेदवार बनाएर मिलाउन सकिने बताइए पनि सुरेन्द्र पाण्डे,गोविन्द भट्टराई, किशोरसिंह राठोरसहितले आकांक्षा राख्दै आएका छन्।

समावेशी सहमहामन्त्रीमा पनि धेरै आकांक्षी छन्। महालक्ष्मी उपाध्यायसहितका कतिपय नेताले पदाधिकारीबाहेक अन्य पदको उम्मेदवार नहुने बुधबारको बैठकमा बताएका छन्।

देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा उपस्थित सबै सहभागी आआफ्नो दाबी प्रस्तुत गरेपछि देउवाले आफ्नो पक्षबाट केन्द्रीय सदस्यका आकांक्षीहरूको सूची बनाउन नेताहरूलाई जिम्मेवारी तोकेका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot