Logo

कांग्रेस १४औं महाधिवेशन : यसकारण सभापतिमा मेरो भोट देउवालाई



टिकाराम खनाल : नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुँदैछ । सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवाले नै दोहोरिने भनिसक्नुभएको छ । उहाँले सभापतिमा नदोहोरिने भनेको भएपनि मजस्ता युवाहरुले उहाँलाई पूनः एकपटक नेतृत्वमा आउन अपिल गर्ने थियौं । अहिले पार्टी सभापति देउवा पाँच दलीय गठबन्धनको सहकार्यमा सरकारको नेतृत्वमा हुनुहुन्छ । यो उहाँले आफ्नो ईच्छाले भन्दापनि देशको परिस्थितिले उहाँको भूमिकाको आवश्यकत्ता औंल्याएपछि त्यो जिम्मेवारी ग्रहण गर्नुभएको भन्ने कुरा दुनियाँलाई जगजाहेर छ ।

जनताको म्याण्डेटअनुसार उहाँले प्रमुख प्रतिपक्षीको भूमिकामा आफू र पार्टीलाई खरो उतार्नुभएको थियो । तत्कालिन नेकपाको सरकारलाई पनि उहाँले रचनात्मक सहयोग गर्नुभएको थियो । तर, दुई तिहाई बहुमत प्राप्त गरेर पनि कम्युनिष्टले सरकार सही तवरले सञ्चालन गर्न नसकेको दृष्टान्त हामीले देख्न पायौं । दुई/दुई पटक संसद् विघटन गरिएको र त्यसलाई अदालतले बदर गरिदियो । त्यसपछि सरकारको नेतृत्व कांग्रेसको हातमा आएको हो ।

अहिले सरकारले संविधान कार्यान्वयनमा जोड दिएको छ । र, यसअघिको सरकार गलत बाटोमा हिँडेकोले त्यसलाई सही ट्रयाकमा ल्याउने काम गरिरहेको छ । उसैपनि प्रधानमन्त्री देउवाको सबैलाई मिलाएर नै लैजाने संस्कृति छ । उहाँले पार्टीमा कहिल्यैपनि बहुमतको डण्डा चलाउनुभएन । भलै सबैलाई समेटेर लैजाने नाममा बरु केही कमजोरी भएका छन् ।

अहिले पार्टीको १४औं महाधिवेशनको मुखमा हामी छौं । यतिवेला शीर्ष नेताहरुले आ–आफ्नो उम्मेद्धवारी घोषणा गरिरहनुभएको छ । वर्तमान सभापतिले यसपटक आफू पूनः सभापतिमा उठ्ने घोषणा गरिसक्नुभएको छ । उहाँले सकेसम्म सहमतिका आधारमा महाधिवेशनबाट नेतृत्व चयन गर्ने धारणा पनि राख्नुभएको छ ।

आजमात्रै काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधनको क्रममा उहाँले यो कुरा दोहोर्याउनुभएको छ । उहाँले भन्दै आउनुभएको छ,‘सकेसम्म हामी सहमतिबाटै नेतृत्व चयन गर्नेछौँ नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने हो । तर, पनि प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविकरूपमा लिएर कुनै पनि प्रकारको कटुता राख्नु हुँदैन । जित्नेले पनि हार्नेलाई समेट्नुपर्छ, हार्नेले पनि सहयोग गर्नुपर्छ, यसलाई प्रजातान्त्रिक प्रक्रियाका रूपमा लिनुपर्छ, कुनै पनि प्रकारको कटुता, मनोमालिन्य राख्नु हुँदैन, असहिष्णु बन्नु हुँदैन ।’

पार्टीको १४औं महाधिवेशन नेपाली कांग्रेसका मात्र नभएर नेपालको प्रजातान्त्रिक भविष्यका लागि पनि एक महत्वपूर्ण अवसर हो । यो कुरा स्वयम पार्टी सभापतिले पनि भन्दै आउनुभएको छ। सार्वजनिकक कार्यक्रमहरुमा सभापति देउवाले भन्दै आउनुभएको छ,‘महाधिवेशन सफल पारेर फर्किएर नेपाली कांग्रेसलाई बलियो बनाउने र अबका सबै निर्वाचनहरूमा बहुमत हासिल गर्ने बनाउन साथीहरू लाग्नुहुनेछ ।’’

                                                                                मेरो भोट किन देउवालाई ?

हामीजस्ता युवाले प्रधानमन्त्रीसमेत रहनुभएका आदरणीय पार्टी सभापतिलाई फेरि पनि पार्टीको नेतृत्वमा ल्याउनको लागि योगदान पुर्याउनुपर्छ । मैले त उहाँलाई भोट हाल्ने निधो गरिसकेको छु । उहाँ अहिले पार्टी सभापतिमात्रै नभएर मुलुकको पनि प्रधानमन्त्री हुनुहुन्छ । उहाँ पार्टी सभापति हुने÷नहुने कुराले देशको स्थायित्व हुने वा नहुने भन्ने कुरा जोडिएको छ। उहाँ सभापति हुनुभयो भने गठबन्धनको राजनीतिले निरन्तरता पाउने मेरो बुझाई हो । उहाँ नेतृत्वमा आउनुभयो भने देशको व्यवस्था र प्रणालीको बचाउनको लागि मद्दत पुग्नेछ। यतिमात्रै होईन, यो राष्ट्रिय स्वाधिानता र राष्ट्रियताको पनि संरक्षण हुनेछ ।

आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो दल बनाउनको लगि पनि पार्टी सभापतिमा फेरि पनि देउवाको आवश्यत्तका देखिएको छ । म देशभरिबाट यो ऐतिहासिक महाधिवेशनमा सहभागी हुन आउनुभएका तमाम युवाहरुलाई खासगरी महधिावेशन प्रतिनिधिहरुलाई सभापतिमा देउवालाई नै जिताउनको लागि अपिल गर्दछु । अहिले सभापति देशको नेतृत्वमा हुनुहुन्छ । देशको प्रधानमन्त्रीले पार्टीको आन्तरिक हार्ने कुराले गठबन्धन टुट्ने खतरा हुन्छ । अनि सरकारपनि राम्रोसँग चल्न सक्दैन् । समग्र राष्ट्रको लागि पनि फेरि पनि पार्टीको नेतृत्वमा देउवा अपरिहार्य हुनुभयो ।

हुन त कतिपयले अहिले सभापति देउवाले नेतृत्वमा दोहोरिन खोजेकोमा आफ्नो असहमति राखेका छन् । तर, अहिले पार्टीमा उहाँभन्दा अर्को नेतृत्वको विकल्प छैन् । उहाँ नै नेतृत्वमा आउनुपर्छ । यो समयको पनि माग हो । अहिले पार्टी आन्तरिक लोकतन्त्रको महायज्ञमा छ । यो महाधिवेशनपनि कांग्रेस सशक्त भएर अघि बढ्नेछ। पार्टीलाई आगामी निर्वाचनमा पहिलो दल बनाउने र पूरानै अवस्थामा फर्काउने र पार्टीबाट विदा लिने सभापति देउवाको चाहना छ । उहाँलाई अहिले हामी सबैले साथ र सहयोग गर्नुको विकल्प छैन् । उहाँ सभापति बन्ने कुरा देशको राजनीतिक भविष्य र व्यवस्थासँग पनि जोडिएको कुरा हो । त्यसैले सबैले आफ्नो विवेक प्रयोग गरौं र उहाँलाई पूनः सभापतिमा विजयी गराऔं ।

(लेखक खनाल रुकुम पश्चिमबाट कांग्रेसको महधिवेशन प्रतिनिधिमा निर्वाचित हुन् । उनी कर्णाली प्रदेशकै कम उमरेका महाधिवेशन प्रतिनिधि पनि हुन् ।)



प्रतिक्रिया दिनुहोस्

Screenshot