काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसभित्र उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा महिला सुनिश्चितताको आवाज बढेपछि नेतृत्व दबाबमा परेको छ । पछिल्लो केही दिनमा महिला नेताहरुसँग आन्तरिक छलफल गरेर केन्द्रीय सदस्य सुजाता कोइरालाले पदाधिकारीमा महिला सुनिश्चिताको अभियान चलाएकी हुन् ।
सुजाताले काँग्रेसको संस्थापन र इतर समूहका महिला नेताहरुसँग व्यापक छलफल गरेकी छिन् । उनले महिला नेताहरुलाई सम्पर्क गरी एकजुट हुन समेत आग्रह गरेको बुझिएको छ ।
‘महिलालाई भोट बैंक मात्र बनाउन खोज्ने नेतृत्वमा रोक्न खोज्ने प्रवृत्तिको विरुद्ध एकजुट हुनुपर्छ,’ काँग्रेसका प्रभावशाली नेताहरुसँग गरेको छलफलमा सुजाताको भनाई उदृत गर्दै स्रोतले भन्यो । उनले पार्टी विधानमै उपसभापति र महामन्त्रीमा कम्तिमा र सहमहामन्त्रीमा कम्तिमा दुई पदाधिकारी सुनिश्चित गर्ने गरी अभियान नै चलाएकी छिन् ।
सुजाताको अभियानमा संस्थापन र इतर समूह दुवैतर्फका महिला नेताहरु एकजुट हुन थालेका छन् । यसले नेतृत्वमा महिला पदाधिकारीको सुनिश्चितताको लागि दबाब बढेको छ ।
सुजाताले महिलाको पदाधिकारी र केन्द्रीय समितिमा बढीभन्दा बढी स्थान सुनिश्चित गरिएमा नेपाली काँग्रेसको अन्तर्राष्ट्रिय छवि अझ उठ्नेबारे पनि छलफलमा बोलेको बुझिएको छ । उनले अधिकांश दलमा महिलालाई पदाधिकारीमा समावेश गरी स्थान सुनिश्चित गरिएको विषय पनि उठाएको स्रोतले बतायो ।
हालै महाधिवेशन गरेको नेकपा एमालेले उपाध्यक्ष र सचिवमा महिलालाई समावेश गरेको छ । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा पद्मा अर्याल छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले महिला उपसभापति र महिला महामन्त्री पद विधानमै व्यवस्था गरी निर्वाचनबाट चयन पनि गरिसकेको छ । राप्रपाको उपसभापतिमा रोशन कार्की र महामन्त्रीमा कुन्ती शाही छन् ।-File Photo