Logo

देउवासँग समन्वयकारी क्षमता छ, कांग्रेसलाई पहिलो बनाउनपनि सभापति बनाउनुपर्छ : श्याम घिमिरे



काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता श्याम घिमिरेले १४औं महाधिवेशनमा पार्टी सभापतिमा एकपटक शेरबहादुर देउवालाई नै जिताउनुपर्नेमा जोड दिएका छन् । कांग्रेसको १४औं महाधिवेशनको पूर्वसन्ध्यामा आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता घिमिरले एकपटक सभापतिमा देउवालाई नै अघि बढाउनुपर्नेमा जोड दिए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सभापति देउवाले नै देशमा समावेशी राजनीतिको सुरुवात गरेको स्मरण गराए । उनले भने,‘सभापतिमा देउवालाई हराउनपर्छ, देउवा सभापति हुँदैहुँदैन भन्ने समूहमा बरु विभाजन छ, मतभिन्नता छन्, तर देउवालाई मान्ने मान्छेहरुभित्र विरोधाभाषा छैन् । देउवा त आफ्नो समूहमा सर्वसम्मत नेता हुनुहुन्छ । समावेशी राजनीतिको सुरुवात गर्ने व्यक्ति देउवा हो । कमैया मुक्ती सुधारको लागि पनि उहाँले काम गर्नुभएको छ । देउवाका सवल पक्ष बढि छन् । देउवालाई एकचोटी सभापति बनाउँदा अब कांग्रेस पहिलो दल बन्छ । उहाँसँग समन्वयकारी क्षमता छ ।’

उनले आफूले यसपटक केन्द्रीय सदस्यतामा उम्मेद्धवारी दिने घोषणा गरे । उनले भने,‘मैले पार्टी सदस्यताको विषय लामो समयदेखि उठाउँदै आएको विषय हो । सबैको लागि खुल्ला हुनुपर्छ । आफ्नो सदस्यतामा बन्देज गर्नुहुँदैन् । सदस्यता लिएको कति वर्षपछि निर्वाचनमा भाग लिन पाउने हो ? बरु त्यो व्यवस्था गर्नुपर्छ । तर कसैलाई पनि सदस्यताबाट वञ्चित गर्नुहुँदैन् ।’

घिमिरेले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको उल्लेख गर्दै भने,‘खुल्ला अर्थनीति, विश्व बजारीकरण, वैज्ञानिक र प्रगतिशील कर प्रणाली नै कांग्रेसका मूल नीति हो । यसको साथै, अत्यधिक सामाजिक सुरक्षा नीति हुनुपर्छ । कांग्रेस भनेको उत्पादनमा विश्वास गर्ने दल हो । उत्पादनमा जोड दिन सकियो भने मुलुकमा आन्तरिक रोजगारी सिर्जना हुन्छ। हात हातमा पैसा हुन्छ। त्यसैले कांग्रेसले अत्यधिक उत्पदानमा जोड दिनुपर्छ । नेपाली कांग्रेस भनेको लोकातिन्त्रक शक्ति हो । राष्ट्रिय रुपमा लोकतान्त्रिक शक्तिसँग मित्रता र एकतालाई अघि बढाउनुपर्छ । सहकार्य गर्नुपर्छ । यही कुरा अन्तर्राष्ट्रिय शक्तिसँग पनि लागु हुन्छ । अब कांग्रेसभित्र वैचारिक अवधारणामा सुधार गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्