Logo

प्रकाशमानको ‘चट्टाने अडान’



काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह बोलीका पक्का र अडानका पक्का नेता मानिन्छन् । उनले राजनीतिमा गरेका कतिपय भद्र सहमति उल्लंघन गरेका छैनन् । प्रकाशमान सिंहको यही स्वभावका कारण उनलाई चट्टाने अडान लिने नेता भनिन्छ । सिंहले यही अडान लिएबाट नेपाली काँग्रेसको सभापतिको उम्मेदवारीका लागि संस्थापन इतर पक्षको साझा उम्मेदवार तय गर्ने प्रयास अझै सफल भएको छैन ।

न प्रकाशमान ब्याक हुन मान्छन् न डा. शेखर कोइराला नै ब्याक हुन तयार छन् । यी दुईमध्ये जस्ले छाडेपनि कुरा मिल्ने भएको छ । या त दुवैले दाबेदारी छाडेमा कुरा मिल्ने अवस्था बनेको छ ।

प्रकाशमान सिंहले आज विहानै कृष्णप्रसाद भट्टराईको शालिक बानेश्वरमा अनावरण गर्दै सभापतिको उम्मेदवारीबाट कुनै हालतमा ब्याक नहुने प्रष्ट पारेका छन् । उनले जुनसुकै दबाब पनि थेग्ने बताइसकेका छन् । आज चाक्सीबारीमा केही प्रभावशाली काँग्रेस नेताहरु पुग्दा पनि उनले आफ्नो पक्षमा सहमति बनाउन भनेर फर्काइदिए ।

सिंहले आफू शेखरभन्दा राजनीतिमा सिनियर भएको तर्क गर्दै आएका छन् । उमेरले भने शेखर सिनियर हुन् । दुवै आफूले मात्र जित्नसक्ने दाबी गर्दै आएका छन् ।
शेखर भने प्रकाशमान ब्याक भए रामचन्द्र पौडेललाई समर्थन गर्न तयार छन् । पौडेलले सिंह या कोइरालामध्ये जो ब्याक भए साथ दिने नभए आफूलाई सबैले साझा उम्मेदवार मान्नुपर्ने बताउँदै आएका छन् ।

शेखर कोइराला चाहिं पौडेलको नाममा सहमत हुन तयार छन् । तर, प्रकाशमानको आफ्नै दाबी छ । उनको चट्टाने अडानले संस्थापनइतर समूहमा साझा उम्मेदवारको सम्भावना कमजोर हुँदै गएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot