Logo

काँग्रेसमा कुन प्रदेशमा को कति शक्तिशाली



काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन रोचक बन्ने देखिएको छ । बुधबार महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । यसबाट सभापतिका आकांक्षी को कति शक्तिशाली छन् भन्ने आँकलन गर्न थालिएको छ ।

प्रदेश १
यो क्षेत्र कोइराला परिवारको गढ मानिन्छ । तर, प्रदेश सभापतिमा कोइराला इतर समूहका उद्धव थापाले २ मतले जित हासिल गरे । ७३३ महाधिवेशन प्रतिनिधि रहेको प्रदेश १ मा कोइराला परिवार अझै शक्तिशाली छ । त्यसपछि सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला बलिया छन् । त्यहाँ उपसभापति विजयकुमार गच्छेदार, विमलेन्द्र निधिका अलावा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहको पनि केही भोट छ ।

प्रदेश २
साँढे ८ सय जति मत हुने प्रदेश २ काँग्रेस महाधिवेशनमा महत्वपूर्ण मानिएको छ । प्रदेश २ मा संस्थापनइतरको मत बढी रहेको आँकलन गरिएको छ । उपसभापति विमलेन्द्र निधि पनि त्यहाँ मजबुत मानिन्छन् । पूर्वराष्ट्रपति डा. रामवरण यादवनिकटस्थहरुको पनि पकड बलियो छ । यो प्रदेशमा सिंह पक्षधर पनि छन् ।

सभापति शेरबहादुर देउवा पक्षले प्रदेश २ मा आधा मत आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ । तर, उक्त क्षेत्रको मत पल्टने सम्भावना बढी देखिएको छ । त्यो उम्मेदवार र घटनाक्रमले असर गर्ने विषय हो । प्रदेश २ मा जस्ले बढी मत लान्छ उही सभापतिको सम्भावित विजयी हुने अवस्था बनेको छ ।

बागमती प्रदेश
राजधानी काठमाडौं समेत रहेको बागमती प्रदेशमा सबैभन्दा बढी मत छ । ८७९ मत रहेको बागमतीमा सबैभन्दा मजबुत प्रकाशमान सिंह छन् । उनको मुख्य पकड क्षेत्र यही हो । तर, प्रदेश सभापतिमा देउवा पक्षका इन्द्र बानियाँले दोस्रो चरणमा उनी पक्षधर उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई पराजित गरेका छन् । तैपनि, महाधिवेशन प्रतिनिधिमा प्रकाशमान यो क्षेत्रमा बहुमत नजिक रहेको दाबी गरिएको छ । यसको अर्थ सिंहको पक्षमा कम्तिमा ४ सय देखि साँढे ४ सय मत यही प्रदेशमा छ ।

बागमतीमा सिंहपछि शक्तिशाली देउवा छन् । त्यसपछि कृष्णप्रसाद सिटौला अनि कोइराला परिवार शक्तिशाली छन् । पौडेल पक्षका पनि केही मतदाता छन् । बागमतीमा निधिको पक्षधर नगन्य छन् ।

गण्डकी प्रदेश
गण्डकीमा संस्थापन इतर मजबुत छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर बलियो छन् । ४८० मतदातामध्ये आधा पौडेल पक्षधर छन् । महामन्त्री डा. सशांक कोइरालानिकटहरु पनि छन् । गण्डकीमा देउवा दोस्रो शक्तिशाली छन् । सिटौला पक्षधरको पनि केही मत छ । गण्डकीमा पनि सिंहका केही समर्थक छन् ।

लुम्बिनी प्रदेश
६८३ मतदाता रहेको लुम्बिनीमा संस्थापन इतर बलियो छ । त्यहाँ पौडेल समर्थक बढी छन् । देउवा पक्षधर अल्पमतमा छन् । देउवा पक्षका बालकृष्ण खाँडको पकड बलियो छ । केही निधि समर्थक पनि छन् ।

कर्णाली प्रदेश
३१७ मतदाता रहेको कर्णाली प्रदेशमा देउवा बलियो छन् । देउवापछि पौडेल र कोइराला पक्षधर छन् ।

सुदूरपश्चिम प्रदेश
यो प्रदेश देउवाको गृहजिल्ला हो । ४१९ मतदाता रहेको सुदूरपश्चिममा देउवाको ३ सय जति मत छ । त्यसपछि कोइराला पक्षधर बलिया छन् । पौडेलसँग नजिक रहेकाहरु पनि यो प्रदेशमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot