काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसभित्र तेस्रो शक्तिका रुपमा १३औं महाधिवेशनबाट स्थापित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला यसपटक पनि निर्णायक शक्ति बनेको छ । अघिल्लो महाधिवेशनमा पनि सिटौला निर्णायक शक्ति बनेका थिए ।
पहिलो चरणमा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री सिटौला चुनाव लड्दा कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको थियो । तेस्रो चरणमा सिटौलाले भित्री रुपमा देउवालाई समर्थन गरेका थिए । जसका कारण बाजी देउवाले मारेका थिए ।
सिटौलाले तेस्रो धारलाई साँढे ५ वर्ष बित्दा पनि कमजोर हुन दिएनन् । बरु रणनीतिक चार्तुयताका साथ शक्ति आर्जन गरे ।
१३औं महाधिवेशनमा सिटौला पक्षबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापाले गुट छाडिसकेका छन् । उनी पछिल्लो समय प्रकाशमान सिंह निकट छन् । थापाले साथ छाडेपछि सिटौला उनीसँग असन्तुष्ट छन् । संगठनमा पकड भएका प्रदीप पौडेल मुख्य सारथी छन् ।
सिटौलाले वडा देखि प्रदेश तहको अधिवेशनहरुसम्म देउवा पक्षसँग एलाइन्स गरेर शक्ति आर्जन गरेका छन् । उपत्यकाका केही निर्वाचन क्षेत्र, बाग्लुङ, काभ्रेमा उनले शक्ति आर्जन गरे । प्रदेश १ मा आफू पक्षधर उद्धव थापालाई जिताउन देउवासँग समिकरण बनाए ।
अब सिटौलाले २५ मंसिरमै रणनीति सार्वजनिक गर्ने बताएका छन् । उनले आफूभन्दा कठिन घडीमा साथ दिने युवालाई बढाउने बताएका छन् । यसको अर्थ आफू पक्षधर प्रदीप पौडेललाई महामन्त्री जिताउने उनको लक्ष्य छ । पक्षधरका युवा नेताहरुलाई पनि केन्द्रीय सदस्य जिताउने गरी सिटौला बढेका छन् ।
संस्थापन पक्ष र इतर पक्षको उम्मेदवारहरुलाई दृष्टिगत गरी सिटौलाले रणनीति चाल्ने बुझिएको छ । संस्थापन इतरको साझा उम्मेदवार भएमा उनी देउवासँग एलाइन्स गरेर जाने सम्भावना छ । इतर समूहबाट धेरै उम्मेदवार बनेमा आफै पनि सभापति बनेर सभापतिको निर्वाचनलाई दोस्रो चरणमा पुर्याउन सक्छन् । त्यसबखत पनि उनले आफू पक्षधर हस्ती नेताहरुलाई महत्वपूर्ण उपलब्धि दिलाउन सक्छन् ।
सिटौलाले यसपटक आफू सभापति बन्नेभन्दा पनि कठिन घडीमा साथ दिनेहरुलाई पदाधिकारी र केन्द्रीय सदस्य बनाएर शक्तिको अभ्यास गर्ने रणनीति बनाएका छन् । जसमध्ये प्रदीप पौडेललाई महामन्त्री बनाइछाड्ने अर्जुनदृष्टि देखिदैछ ।