Logo

ट्रक दुर्घटनामा परी दुईको मृत्यु



कास्की, २४ मङ्सिर: पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गस्थित पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु२ ख२९४८ नंको फलामे छड (रड) बोकेको ट्रक आँफै अनियन्त्रित भई बिहान अन्दाजी ४ः३० बजे नालीमा पल्टिएको थियो ।

घटनामा परी घाइते भएका लमजुङ पार्चे बस्ने ४२ वर्षीय भीमबहादुर तामाङ र नाम, थर, वतन नखुलेका अन्दाजी ४०-४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएपछि दुवै जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले दुवै जना ट्रकका चालक र सहचालक हुनसक्ने जनाएको छ । सवारीधनी र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ तिवारीले बताए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot