Logo

महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलको दाबी : कृष्ण सिटौलाले सभापतिमा उम्मेदवारी दिनसक्नुहुन्छ, उहाँले आफूलाई पछि हटाइसक्नुभएको छैन



नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले आफूले यसपटक पनि कृष्णप्रसाद सिटौलाको समूहबाट उम्मेदवारी दिने बताए । यसपटक पनि सिटौलाले सभापतिमा उम्मेदवारी दिनसक्ने पौडेलको भनाई छ। आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्–‘त्यो कुरामा हामी छलफलकै क्रममा रहेका छौं । उहाँ (कृष्ण सिटौला) ले सभापतिमा उम्मेद्वारी दिनसक्नुहुन्छ । उहाँले आफुलाई पछि हटाइसक्नुभएको छैन् ।’ प्रस्तुत छ नेता पौडेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं नेपाली काँग्रेसको १४औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको प्यानलबाट महामन्त्रीको उम्मेद्वार हो ?

हजुर हो । मैले महामन्त्रीको रुपमा आफ्नो उम्मेद्वारी पहिलेनै प्रस्तुत गरेको छु । म कुन समूहमा छु भन्ने कुरा पनि प्रष्ट नै छ । त्यसकारणले हामीहरुले कृष्णप्रसाद सिटौलाको नेतृत्वमा महाधिवेशनमा आफुलाई प्रस्तुत गर्ने निर्णय गरेका छौं ।

तर, कृष्णप्रसाद सिटौलाले सभापतिमा उम्मेद्वारी नदिने संकेत गर्नुभयो नि ?

होइन, उहाँले त्यस्तो भन्नुभएको छैन् । उहाँले उद्घाटन समारोह पछि यो कुरा टुङ्ग्याउने भनेर भन्नुभएको छ ।

उहाँले सभापतिमा उम्मेद्वारी दिनुहोला ?

त्यो कुरामा हामी छलफलकै क्रममा रहेका छौं । उहाँले उम्मेद्वारी दिनसक्नुहुन्छ । उहाँले आफुलाई पछि हटाइसक्नुभएको छैन् ।

तर, उहाँले शेरबहादुर देउवासँग तपाईंलाई महामन्त्रीमा अगाडी बढाउने भनेर सहमति गरिसक्नुभएको छ भन्ने कुरा छ ?

होइन्, त्यो अझै छलफलकै क्रममा रहेको छ । सबैतिर छलफल चलिरहेको छ । अहिलेसम्म कुनै विषय टुङ्गो लागिसकेको अवस्था छैन् ।

तर, सिटौलाजीले जसरीपनि तपाईंलाई जिताउनुपर्छ भनेर माग राख्नुभएको छ नि ?

त्यो सबै कुरा छलफल भएर परीणाममुखी भइसकेको अवस्था रहेको छैन् । अहिले छलफल भइसकेको छ । अब एउटै पार्टीभित्र अधिवेशनका सन्दर्भमा एकआपसमा छलफल हुने, सहमतिका निम्ति प्रयास हुने, बलियो हुने कोशिस गर्ने भनेको स्वभाविक विषय हो । त्यसैअनुरुप अहिले छलफल भइरहेको छ ।

हिजो भएको छलफलमा के कुरा भएको थियो ?

हिजो त हामीले हाम्रो समूहको तर्फबाट कार्यक्रम गरेका हौं । त्यो कार्यक्रममा हामीले हाम्रो उम्मेद्वारी रहने कुरा सार्वजनिक गरेका थियौं । त्यसअनुसार अगाडी बढ्नको लागि हामीले साथिहरुलाई आग्रह गरेका छौं । अन्य समूहका साथीहरुसँग कसरी अगाडी बढ्ने भन्ने कुराको टुङ्गो लागिसकेको छैन् छलफलकै क्रममा रहेको छ ।

उसोभए तपाईंहरुको समूहबाट महामन्त्रीको उम्मेद्वार टुङ्गो लागेको हो ?

अब महामन्त्रीको उम्मेद्वारी मैले पहिले नै प्रस्तुत गरेको छु । त्यो समूहकै छलफल र निश्कर्षको आधारमा भएको हो ।

अब पौडेल पक्षबाट गगन थापापनि महामन्त्रीमा अगाडि बढिसक्नुभएको छ, तपाईं र गगन थापाबीचमा प्रतिष्पर्धा हुनेभएको हो ?

यो पार्टीको महाधिवेशन हो । हामीले महाधिवेशन प्रतिनिधि साथीहरुको बिचमा आफ्ना कुरा राख्ने कुरा स्वभाविक हुन्छ भन्ने मलाई लाग्छ । त्यसैले हार्दिक रुपमा र मर्यादित ढंगबाट प्रतिस्पर्धा गर्ने कुरालाई अस्वभाविक ढंगले लिनुहुँदैन् । महामन्त्री पद दुईवटा छ त्यसैले त्यहाँ प्रतिस्पर्धाको कुरा भन्दापनि हामीहरुले यसलाई कसरी अगाडि बढाउन सक्छौं, कसरी विषयहरुलाई बाहिर ल्याउन सक्छौं, कसरी पार्टीको भविष्य राम्रो बनाउन सक्छौं भन्ने कुरा महत्वपूर्ण हो भन्ने मलाई लाग्छ । तपाईंले भनेजस्तै महामन्त्रीका उम्मेद्वारहरु थुप्रै बन्ने संकेत रहेको छ । तर, कुरा भनेको व्यक्तिगत प्रतिस्पर्धाको विषय भने होइन् ।

त्यसोभए कृष्णप्रसाद सिटौला पक्षको तर्फबाट महामन्त्रीमा आधिकारिक उम्मेद्वार तपाईं नै हो ?

यो कुरा त धेरै पहिले नै आइसकेको कुरा हो ।

शेरबहादुर देउवा र सिटौला पक्षको बीचमा जसरी प्रदेशमा सम्झौता र सहकार्य भएको थियो, त्यसैगरी केन्द्रमा हुनसक्ने सम्भावना रहेको छ ?

यो कुरा त कसले अस्तित्व स्विकार गर्छ, कसले हार्दिक रुपमा व्यबहार गर्छ भन्ने कुरामा पनि निर्भर गर्छ । यो हाम्रो अधिवेशन विचार र बहसको कुरा भन्दापनि नेतृत्व लिने विषयसँग केन्द्रीत भएको स्थिति रहेको छ । त्यसैले गणित बढाउनको लागि अरुसँग मिल्ने कुरा पनि स्वभाविक हुनसक्छ । त्यसैले छलफलका क्रममा अस्तित्व स्वईकार गर्ने स्थिति बन्यो भने जो सँग पनि मिल्न सकिन्छ । कुनै प्रदेशमा संस्थापन पक्षसँग हाम्रो सहकार्य भयो कुनै प्रदेशमा अरुसँग सहकार्य भयो होला । त्यसैले यसलाई हामीले यो हाम्रो पार्टीको आन्तरिक विषय हो भन्ने ठानेर सबे साथीहरुसँग हातेमालो गरेर अगाडि बढ्ने त्यसमा चाहीँ आफुले पनि जिम्मेवारी प्राप्त गर्ने कोशिस गरिहेको स्थिति हो । त्यसैले छलफल गरेर हामीले यी विषयहरुलाई टुङ्ग्याउँछौं । समझदारी गरेर अगाडी बढ्ने कोशिस गर्छौं । त्यसो भएन भने हामी एकलरुपमा पनि प्रस्तुत हुने अवस्था आउनसक्छ ।

नेपाली काँग्रेसको कुरा गर्दा युवाहरुले हस्तक्षेपकारी भूमिका खेल्न सकेनन् भन्छन् नि, त्यसो हो ?

हामीले सुरुवात गरेका विषयहरु परीणाममुखी हुन सकेका छैनन् । तर, यसको अर्थ चाहीँ अब हामी थाकिसक्यौं अथवा हामी पलायन भएर हिँड्दैछौं भन्ने होइन् । हामीले त्यो प्रयत्न निरन्तर रुपमा जारी राखेको अवस्था रहेको छ । अब सार्थक हस्तक्षेप हुन नसकेको कुरालाई म स्विकार गर्छु । धेरै विषयहरु छन् । तिनीहरुलाई सच्याउने र पार्टीलाई पूर्ण रुपमा संगठित बनाएर अगाडि बढाउने सन्दर्भमा धेरै काम गर्न जरुरी रहेको छ । तीनै काम गर्नको निम्ति नै हामीले आफ्नो महत्वकांक्षा प्रस्तुत गरेका हौं । पदाधिकारी भएर जिम्मेवारी प्राप्त गर्ने स्थिति बन्यो भने हामी त्यस्ता कुराहरुलाई सच्चाउने सन्दर्भमा अझ बढी पहल गर्न सक्छौं भन्ने लागेर मैले आफ्नो उम्मेद्वारी दिएको हुँ ।

नेपाली काँग्रेसमा युवा पुस्ताको आकर्षण बढेको छ, अब तपाईंहरुले युवाहरुलाई व्यवस्थापन गर्न सक्नुहुन्छ ?

त्यो व्यवस्थापन गर्ने मूख्य चुनौति हो । युवाहरुलाई पार्टीभित्र प्रशस्त रुपमा अवसर प्रदान गरिनुपर्छ । मुद्दागत विषयहरुमा पनि युवाहरुका मुद्दाहरुलाई अझ बढी समेटिनुपर्छ । लाखौं युवा मतदाताहरुलाई आकर्षित गर्ने स्थिति बनेन भने निर्वाचनमा हामी पछाडि पर्ने अवस्था आउनसक्छ । त्यसकारणले हामीले युवा आकर्षणको विषयलाई प्राथमिकतामा राखेर त्यसैअनुसार मुद्दाहरु तय गर्ने, एजेण्डाहरु तय गर्ने, पार्टीगत संरचना निर्माण गर्ने त्यसअनुसार कार्यदिशा तयार गर्नेगरि अगाडि बढ्नुपर्छ । निर्वाचनसँग जोडेर हेर्ने हो भने युवा मतदातालाई आकर्षित गर्ने भन्ने नै मूख्य विषय हो । त्यसको लागि मतदाताको रुपमा मात्रै युवाहरुलाई आग्रह गर्ने भन्ने कुराले पूर्णता पाउन सक्दैन् । पार्टी भित्र युवाहरुलाई बिभिन्न जिम्मेवारी प्रदान गर्ने, युवाहरु निति निर्माण तहमा पुगेर आफ्ना विषयलाई प्रस्तुत गर्नसक्ने स्थिति बनाउने अनि कामको जिम्मेवारी पनि युवाहरुले प्राप्त गर्नसक्ने स्थिति बनाउन सकियो भने मात्र नेपाली काँग्रेस पार्टीलाई युवामय बनाउन सकिन्छ । धेरै मतदातालाई त्यससम्बन्धमा आकर्षीत गर्न सकिन्छ । त्यसको लागि प्रधान विषय मुद्दा हो । हामीले त्यसको निम्ति प्रयत्न गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

रामचन्द्र पौडेलले हिजोको केन्द्रीय समिति बैठक बहिस्कार गर्नुभयो, अब आजको उद्घाटन समारोहमा पनि उहाँ जानुभएन भने कस्तो सन्देश जाला ?

उहाँ नेपाली काँग्रेसको एउटा वरिष्ठ नेता हुनुहुन्छ । त्यसैले उहाँको अनुपस्थिति आँफैमा गम्भिर विषय हो । उहाँको अनुपस्थितिले हामीलाई पक्कैपनि नमिठो विषय बनाउँछ । त्यसैले अधिवेशनका यी कार्यक्रममा उहाँको सहभागिता हुन जरुरी छ । अब नेतृत्व लिने सदर्भमा उहाँको प्रयत्न जारी रहनसक्छ, भइरहेको छ । उहाँ पार्टीको सिनियर नेता हो । त्यस हिसाबले पनि उहाँले आफुलाई नेतृत्वको निम्ति प्रस्तुत गर्ने विषय पनि स्वभाविक हो । तर, यो आन्तरीक विषय भएको कारणले गर्दा विषयहरु बाहिर आउनेगरि उहाँले असहमति राख्ने कुरा स्वभाविक हुन सक्दैन् । उहाँलाई अब यति ठुलो लगानी र त्यागपछि पनि पार्टीको नेतृत्व गर्न नपाउने कुराले ठेस पुगेको छ । तर, ती कुराहरु आन्तरिक रुपमा साथीहरुसँग छलफल गरेर व्यवस्थापन गर्न सकिन्छ । त्यसैले १४औं महाधिवेशनमा उहाँजस्तो नेताको अनुपस्थिति हुने कुराले सबैलाई दुःखी बनाउछ । म उहाँलाई पनि महाधिवेशनको प्रक्रियामा सहभागी हुन आग्रह गर्न चाहन्छु ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot