काठमाडौं, २४ मंसिर । सत्तारुढ दल नेपाली काँग्रेसका युवा नेता कुन्दन काफ्लेले नेपाली काँग्रेसमा नविनता र पुस्तान्तरणका साथै सबै हिसाबले सबल र सक्षम नेतृत्व हुनुपर्ने वर्तमान आवश्यकता रहेको बताएका छन् ।
हिजो (बिस्बार) राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले हिजोको दिनमा नेपाली काँग्रेसले चेतना र लोकतन्त्रको आन्दोलन गरेको भन्दै अबका दिनमा समृद्धिको आन्दोलनको नेतृत्वपनि नेपाली काँग्रेसले नै गर्नुपर्ने बताए । ‘तर, त्यसको लागि पुस्तान्तरण आवस्यक रहेको छ’, उनले भने ।
यस्तै, उनले नेपाली काँग्रेस पार्टीमा सबै तह, वर्ग, लिङ्ग र भुगोलको आवस्यकता रहेको बताउदै १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता रञ्जित कर्णले नेपाली काँग्रेसमा उमेरको मात्र पुस्तान्तरण नभएर विचारको पुस्तान्तरणको आवस्यकता रहेको बताए । साथै, उनले आफु युवा पुस्ता नभएको भन्दै नयाँ पुस्ताको रुपमा आफुलाई चित्रित गरेका थिए ।
यस्तै, उनले मुलुकलाई आर्थिक सम्वृद्धीको बाटोमा पुर्याउनको लागि नेपाली काँग्रेस बलियो हुन आवस्यक रहेको बताउदै नेपाली काँग्रेस अहिलेको नेतृत्वले बलियो बन्न नसक्ने बताएका थिए ।
अर्का युवा नेता नैनसिंह महरले अहिलेको नेतृत्वले पार्टीलाई एकताबद्द बनाएर अगाडी बढाएको भन्दै राम्रो काम गर्नसकेन भन्नु गलत भएको बताए थिए । ‘उनले बर्तमान सभापति एकपटक दोहोरिन चाहनुहुन्छ भने उहाँलाई सहयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ’, उनले भने । यस्तै, उनले नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट आउने सबै पदाधिकारि योग्य, नैतिकबान र सक्षम हुन आवस्यक रहेका बताए ।