Logo

सुजाताद्वारा सर्वसम्मत सभापतिसहित पदाधिकारी चयनको प्रस्ताव



काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सहमतिबाट सभापतिसहित कार्यसमिति चयन हुनुपर्ने भन्दै केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रस्ताव अगाडि सारेकी छिन् । उनले प्रमुख नेताहरुलाई सम्पर्क गरेर सहमतिबाट बढ्न जोड दिएको बुझिएको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहेकी कोइरालाले चुनावको मुखमा द्वन्द्व र विवादको अवस्था आउन दिन नहुने भन्दै सर्वम्मत पदाधिकारी चयनको प्रस्ताव राखेको बुझिएको छ । उनले बिहिबार काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट्दा पनि सहमतिको वातावरण तयार गर्नुपर्नेमा जोड दिएको बुझिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुसँग कोइरालाले सम्पर्क गरी सर्वसम्मत नेतृत्वसहित पदाधिकारी चयनको सम्भावनाबारे समेत छलफल गरेको स्रोतले बतायो । उनले उपसभापति विमलेन्द्र निधिसँग पनि छलफल गरिसकेकी छिन् ।

सुजाताले काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले भन्ने गरेको सहमति, सहकार्य र एकताको मार्ग छाड्न नहुनेमा जोड दिदै नेताहरुलाई चुनाव अघि नै एकताको सन्देश दिन भन्दै आएकी छिन् । उनले पार्टीभित्र पहिले सहमति, सहकार्य र एकताको विकास गर्नुपर्नेमा जोड दिएको बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्