Logo

मैंले दमौलीबाट विद्रोह सुरु गरेबाट पार्टी सभापति प्रधानमन्त्री बन्न पाउनुभयोः पौडेल



काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न पाउनुमा आफूले तनहुँको दमौलीबाट सुरु गरेको विद्रोह नै मुख्य कारण भएको बताएका छन् । उनले दमौलीबाट विद्रोह सुरु गरेपछि निरंकुश शासन ढल्ने अवस्था बनेको बताए ।

‘यहाँ मैंले प्रधानमन्त्री बनाएँ भन्ने कुरा आयो । तर, मैंले दमौलीबाट सुरु गरेको विद्रोहले हाम्रो पार्टीका सभापति प्रधानमन्त्री बन्न पाउनुभयो ,’ पौडेलले पार्टीको १४औं महाधिवेशन उदघाटनमा भने ।

उनले देउवाको आलोचना गर्दै कमी कमजोरीको समिक्षा गर्नुपर्ने बताए । पौडेलले काँग्रेस कम्युनिस्टभन्दा किन पछाडि परेको भनी आत्ममूल्यांकन गर्नुपर्ने बताए ।

‘यत्रो इतिहास बोकेको नेपाली काँग्रेस कसरी कम्युनिस्ट भन्दा पछि पर्यो ?’ पौडेलले प्रश्न गरे,‘यसको मूल्यांकन गर्नुपर्छ ।’ अहिले काँग्रेसको गति रोकिएको बताए ।

पार्टीले कम्युनिस्टहरुसँग प्रतिष्पर्धा गर्नुपर्ने कठिन चुनौती रहेको बताए । उनले पार्टीभित्र आन्तरिक लोकतन्त्र विकास गर्नुपर्नेमा जोड दिए ।

पार्टीलाई विकृतीको अखडा बनाउन खोजिएको टिप्पणी गरे । काँग्रेसको काँधमा लोकतन्त्रको रक्षा मुख्य जिम्मेवारी रहेको बताए ।

प्रचण्डले अहिलेको सरकार आफूले बनाएको दाबी गरेको भन्दै आलोचना गरे । पौडेलले दमौलीबाट आफूले विद्रोह गरेकाले देउवा प्रधानमन्त्री बन्न सकेको बताए ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्