Logo

दुई वर्षदेखि भाषा परीक्षा हुन सकेन



काठमाडौं, मंसिर २५। कोरोना महामारी सुरु भएयता कोरियन भाषा परीक्षा सञ्चालन हुन सकेको छैन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सन् २०२० मा हुनुपर्ने कोरियन भाषा परीक्षा हालसम्म हुन नसकेको हो।

सुरुमा सन् २०२० का लागि करिब १० हजार युवा रोजगारीमा कोरिया लैजाने कोटा तोकिएको चर्चा चले पनि पछिल्ला दिनमा त्यसबारे कुनै छलफल नभएको बताइन्छ।

सन् २०२० कै भाषा परीक्षा हुन नसकेका कारण सन् २०२१ को कोटा पनि अनिश्चित छ। कोरोना महामारी सुरु हुँदा पहिला नेपालले कोरिया रोजगारीमा कामदार पठाउन रोकेको थियो। तर पछिल्लो समयमा कोरियाले रोजगारी सुचारु गर्न अनेक सर्त राख्दै आएको छ।

रोजगारी सुचारु गर्न काठमाडौं–सिओल सिधा उडान हुनुपर्ने, कोरिया गइसकेपछि नेपाली कामदार कम्तीमा १४ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने र त्यसको खर्च कामदारले बेहोर्नुपर्ने कोरियाको सर्त नेपालले स्वीकार गरेकाले अहिले कामदारको खर्च बढेको हो। विगतमा भाषा परीक्षा उत्तीर्ण गरिसकेका नेपाली कामदार विस्तारै कोरिया जान थालेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विगतमा भाषा परीक्षा गरेका सात हजार र घर बिदामा आएका तीन हजार गरी करिब १० हजार नेपाली कामदार कोरोनापछि कोरिया जान पाएका छैनन्। तीमध्ये कतिपयको भाषा परीक्षा उत्तीर्ण गरेको अवधि दुई वर्षभन्दा बढी भइसकेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot