काठमाडौं, २५ मंसिर । नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
शुक्रबारबाट भृकुटिमण्डपमा सुरु भएको कांग्रेसको १४औं महाधिवेशनमा युवा नेता भट्टराईले मनोनयन दर्ताको क्रममा खुलातर्फ (३५) केन्द्रीय सदस्य पदमा उमेदवारी दिएका हुन् ।
नेता भट्टराईले सबल कांग्रेस सम्बृद्ध नेपालीका लागि आफ्नो उम्मेदवारी दिएको बताए । उनले भने, ‘युवा विद्यार्थी शक्ति केवल भविष्यका कर्णधार मात्र होइनन् वर्तमानका साझेदार पनि हुन् ।’ कांग्रेसमा परिवर्तनको निम्ती युवाहरुलाई प्रयोग गर्ने र पार्टीमा ठाउँ नदिने परिपाटीको अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।
कांग्रेसको नेतृत्वमा युवापुस्तालाई लगेमात्र गुटको अन्त्य हुने भन्दै नेता भट्टराईले भने,‘सबल कांग्रेस सम्बृद्ध नेपालीका लागि कांग्रेसमा युवा पुस्ताको आवश्यकता छ, युवा पुस्तामा नेतृत्व हस्तान्तरण भएमा गुटको अवश्य अन्त्य हुन्छ । काँगेसलाई युवा नेतृत्वले मात्र गुठमुक्त गर्न सक्छ, युवाविहिन काँग्रेस कम्युनिष्टसँग लड्न सक्दैन ।’ आगामी निर्वाचनमा कांग्रेस एक्लै गएमा बहुमत ल्याउने दाबी गर्दै अन्य पार्टीसँग सहकार्य गर्न नहुने पनि उनले तर्क गरे ।
महामन्त्री भट्टराईले आफू काँग्रेसको राजनीतिमा अगाडि बढिसकेकाले अब विद्यार्थी राजनीतिमा नफर्कने पनि स्पष्ट पारेका छन् । उनले नेविसङ्घमा आर्जन गरेको अनुभवलाई अब पार्टी राजनीतिमा लगाउने भन्दै अब विद्यार्थी राजनीतिमा नफर्कने बताएका हुन् ।
नेपाल विद्यार्थी सङ्घ त्रिचन्द्र क्याम्पसको इकाई सभापति, स्ववियु सभापति, नेविसंघ केन्द्रीय सदस्य हुँदै नेविसंघको महामन्त्री बनेका भट्टराई विद्यार्थी राजनीतिबाट अलग भई पार्टी राजनीतिमा प्रवेश गर्न लागेका हुन् । उनी तनहुँ क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधी निर्वाचित भएका हुन् ।