Logo

काँग्रेस सभापतिको प्रतिष्पर्धा दोस्रो चरणमा जाने संकेत, देउवासँग निर्णायक प्रतिष्पर्धामा को भिड्ला ?



काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ४ उम्मेदवार बलिया छन् । टिम व्यवस्थापन र नेताको प्रभावलाई केलाउँदा सभापति शेरबहादुर देउवा सबैभन्दा बलिया छन् ।

देउवाले पहिलो चरणमै बहुमत ल्याएर चुनाव जित्ने दाबी गरेका छन् । तर, त्यो सजिलो छैन ।

कुल ४७७३ महाधिवेशन प्रतिनिधिमध्ये बहुमत ल्याउन देउवालाई २४ सय जति मत आवश्यक पर्छ । देउवाको साथमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि छन् । उनको साथ पाउँदा पनि देउवालाई बहुमत हासिल गर्न मुश्किल पर्छ । उनी त्यसका लागि प्रयासरत छन् ।

देउवाले बहुमत ल्याउन नसकेपनि पहिलो चरणमा उनी नै सर्वाधिक मत ल्याउने उम्मेदवार बन्ने निश्चितप्रायः छ । दोस्रो स्थानमा जो आउँछ उसैले देउवासँग निर्णायक प्रतिष्पर्धा गर्छ । यसमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालामध्ये एक हुनेछन् ।

सिंह र कोइराला दुवै बढीभन्दा बढी मत प्राप्त गरी दोस्रो स्थान ल्याउन सक्रिय छन् । दुवैले एक हजार मत कटाउने दाबीका साथ सक्रियता बढाइरहेका छन् । चौंथो बढी मत भएका उपसभापति विमलेन्द्र निधि हुन् । उनी ५ सय मत कटाउने उद्देश्यका साथ सक्रिय छन् ।

पहिलो चरणमा देउवाले बहुमत ल्याएमा नेताहरुको प्रतिष्पर्धामा दोस्रो चरणमा लाने प्रयास विफल हुन्छ । सफल भएमा देउवासँग सिंह या कोइरालामध्ये एकले प्रतिष्पर्धा गर्ने देखिन्छ ।

देउवाले पहिलो चरणमा चुनाव नजितेमा दोस्रो चरणमा तेस्रो हुनेको साथ लिनुपर्ने वाध्यता रहन्छ । त्यसका लागि उनले विकल्पसहित पूर्वतयारी गरिसकेको बुझिएको छ ।

देउवाका लागि निधि पहिलो प्राथमिकतामा रहनेछन् । उनले निधिलाई तान्ने प्रयास गर्नेछन् । पहिलो चरणमा तेस्रो हुने जो कोहीलाई पावर सेयरिङको प्रस्ताव गर्न सक्नेछन् ।

देउवाले दोस्रो चरणमा भिड्दा विपक्षीलाई मनाउन नसके पासा पल्टन सक्छ । काँग्रेसको नेतृत्वमा ठूलै परिवर्तन हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्