Logo

नेपालमा चिनियाँ प्राविधिक टोली, चक्रपथ विस्तार अघि बढ्ने संकेत



काठमाडौं, मंसिर २६। चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि चाबहिल धोबीखोलासम्मको दोस्रो सडक खण्ड विस्तारले अब गति लिने संकेत देखिएको छ ।

साइट क्लिअरिङको जिम्मा पाएको नेपाल सरकारले चिनियाँ पक्षलाई साइट क्लिअर भएर कामअघि बढाउन सकिने जनाउँदिँदै पत्राचार गरेपछि चिनियाँ प्राविधिक टोली साइट भिजिट गर्न नेपाल आइपुगेको छ ।

चार सदस्यीय चिनियाँ प्राविधिक टोलीले विस्तार गरिने कलंकीदेखि महाराजगन्जसम्म सडकको अध्ययन गरेर चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीलाई प्रतिवेदन दिएपछि चक्रपथ विस्तारको काम अघि बढ्ने भएको हो ।

चक्रपथ विस्तार आयोजनाले चिनियाँ प्राविधिक टोलीले अनौपचारिक रूपमा साइटको भिजिट गरेपछि विस्तारको काम अघि बढ्ने जनाएको छ । आयोजनाले साइट क्लिअरिङको काम ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको जनाउँदै कहीँ समस्या भएमा चिनियाँ पक्षलाई फिल्डमा नै प्रस्ट पारिने जनाएको छ ।

चिनियाँ पक्षले साइट क्लिअरिङको सम्पूर्ण काम सम्पन्न भएपछि मात्रै काम थाल्ने जनाउँदै आएको छ । नेपाल पक्षले चिनियाँ पक्षको मागअनुसार नै रुख काट्ने, बिजुलीको पोल हटाउने काम गरे पनि महाराजगन्जको २ सय ४४ मिटर खण्डमा समस्या रहेको छ । स्वयम्भुको स्तुपा भएको ४०÷५० मिटर ठाउँमा पनि सामान्य समस्या रहेको छ । आयोजनाले उक्त ठाउँमा समस्या नहुने जनाएको छ ।

चक्रपथ विस्तारअन्तर्गत दोस्रो सडकखण्डमा नेपालले पहिला साइट क्लियर अर्थात् रूख, पोल र ढल हटाउनुपर्ने सम्झौतामा उल्लेख छ । त्यसपछि चिनियाँ टोलीले सडक विस्तार गर्ने सम्झौता छ । जसअनुसार चक्रपथको चौडाइ बीचबाट दुवैतर्फ २५–२५ मिटर हुनुपर्नेछ । थप ६–६ मिटरमा नेपालले सर्भिस ट्रयाक बनाउनुपर्ने हुन्छ ।

यसअघि कोटेश्वरदेखि कलंलीसम्म पनि चिनियाँ सरकारले नै चक्रपथ विस्तारको काम गरेको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्