Logo

टन्सिललाई हेलचेक्र्याइँ नगरौँ



काठमाडौं, मंसिर २६। जडीबुटीकी मीना गिरीलाई नियमित घाँटी दुख्ने तथा टन्सिलको समस्या छ । महिनैपिच्छे नाक–कान–घाँटी रोग विशेषज्ञकहाँ गएर देखाउनैपर्छ । केही दिनअघि मात्र अस्पताल गएर उहाँले उपचार गराएकी थिईन् ।

उनलाई घाँटी सक्सकाउने र दुख्ने समस्या देखिएपछि चिकित्सकले धुलोमैलोबाट जोगिन आग्रह गर्दै औषधि सिफारिस गरे । उनले औषधि सेवनपछि केही दिनसम्म ठीक हुने र केही समयपछि त्यही समस्या दोहोरिने गरेको गुनासो गरिन । कहिलेकाहीँ त मीनालाई टन्सिलसमेत हुने गरेको छ । टन्सिल हुँदा उनलाई एन्टिबायोटिक खानुपर्ने हुन्छ ।

जाडो मौसममा टन्सिल हुने सम्भावना धेरै हुने भएकाले चिसोबाट बच्न चिकित्सकहरू सुझाव दिन्छन् । वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा प्रकाश थापाले यस हप्ता आफूले टन्सिलका धेरै बिरामी हेरेको बताए ।

उनले धुलोमैलो, धुँवा, खानपानले घाँटीमा असर गर्ने र टन्सिल हुने सम्भावना रहने जानकारी दिँदै जाडो मौसममा चिसो तथा फ्रिजमा राखिएका खाद्य पदार्थ एवं पेय पदार्थ पिउँदा पनि घाँटी दुख्ने र टन्सिल हुने बताए । उनका अनुसार रुघाखोकी बढ्दै जाँदा पनि टन्सिलको जोखिम रहेको बताए ।

कतिपयलाई टन्सिल निको पार्न एन्टिबायोटिक्सको प्रयोग गर्नुपर्ने हुन्छ । नाक, कान, घाँटी रोग विशेषज्ञ डा दीपेन्द्र श्रेष्ठले टन्सिल सबैको समस्या हो भन्दै कसैलाई नियमित टन्सिल हुन सक्ने बताए ।

उनले ब्याक्टेरियाबाट हुने टन्सिलका कारण तत्कालीन र दीर्घकालीन जटिलता एकदमै खतरापूर्ण हुन सक्ने बताउँदै एकपटक टन्सिल भइसकेपछि निको हुने तर बारम्बार बल्झिरहन सक्ने हुँदा सतर्कता अपनाउनुपर्ने सुझाव दिए। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्