Logo

मत माग्न व्यस्त कांग्रेस नेता तथा कार्यकर्ता



काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफ्ना नेतालाई निर्वाचन जिताउनका लागि शुभचिन्तक मत माग्नलाई व्यस्त छन् । शुक्रबारै पार्टीको उद्घाटन सत्र र बन्दसत्र सकाएको कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु गरेसँगै आफ्ना नेताको पक्षमा माहोल निर्माण गर्न मत माग्न कार्यकर्ता व्यस्त छन् ।

पार्टीको निर्वाचनस्थल बाहिर पद्यमोदय सडक तथा भृकुटीमण्डपभित्र आफ्ना नेताका पक्षमा भोट माग्नका लागि नेता तथा कार्यकर्ता बिहानदेखि नै व्यस्त छन् । उनीहरु नेताको व्यानर,‘स्ट्याचु’ र श्रव्य सामग्री सुनाएर भोट मागिरहेका छन् ।

भोट माग्ने कार्यकर्ताका कारण भृकुटीमण्डप क्षेत्र वरपर भीडभाड भएको छ । यस्तै आफ्नो पक्षमा मत पार्नका लागि नेताले होर्डिङ बोर्डलाई प्राथमिकता दिएका छन् ।

काठमाडौँका विभिन्न प्रमुख सडक, निर्वाचन क्षेत्र वरपर र महाधिवेशन प्रतिनिधि बस्दै आएको होटलसम्म उम्मेदवारको होर्डिङ बोर्ड राखिएका छन् । यस्तै आफ्ना नेताका नाममा टोपी, टिसर्ट, जकेट, पानीका बोतल, कलमलगायका सामग्री बनाएर प्रचारप्रसार गरिरहेका छन् ।

महाधिवेशनका लागि वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा शेखर कोइराला, केन्द्रीय सदस्य कल्याणकुमार गुरुङ र महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले उम्मेदवारी दिएका छन्।

सभापतिका उम्मेदवार देउवा र डा कोइरालाले प्यानलै बनाएर उम्मेदवारी दिएका छन् भने निधि, सिंह, गुरुङ र न्यौपानेले पूरा प्यानल बनाएका छैनन् । उम्मेदवार मनोनयन दर्ता, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ, दाबी विरोधउपर निर्णय र उम्मेदवारको पहिलो नामावली प्रकाशन शनिबारै गरिसकिएको छ ।

यस्तै मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म रहेको थियो । उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो १२ः१५ मा सार्वजनि गर्ने तयारी रहेको छ । मतदान भोली मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने सुरु हुनेछ ।

मतदान भने भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुनेछ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्नेबारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्