Logo

परम्परागत मोडालिटी अपर्याप्त भएकोले सामुदायिक विकासको मोडालिटीमा जाऔं : अर्थमन्त्री शर्मा



काठमाडौँ, २६ मङ्सिर: अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणको परम्परागत मोडालिटी अपर्याप्त भएकोले सामुदायिक विकासको मोडालिटी अपनाउनुपर्नेमा जोड दिएका छन् ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले परम्परागत ठेक्का प्रथाबाट देश विकास संभव नरहेकोले नयाँ मोडालिटीमा जानुपर्ने आवश्यकता औंल्याए । ‘अहिलेको ठेक्का प्रथाबाट देशको विकास संभव छैन, समुदायमार्फत विकास गर्ने मोडालिटीमा जानुपर्छ’ उनले भने, ‘सरकारले समुदायलाई पैंसा दिने, सरकारले अनुगमन र अडिट गर्ने मोडालिटीमा गयो भने तीव्र गतिमा विकास हुन्छ । यसबारे बहस सुरु गरेको छु ।’

निश्चित मोडालिटी र मापदण्ड बनाएर हरेक वडा र पालिकाका समुदायलाई पैंसा दिने र उनीहरुको सहभागितामा विकास गर्ने मोडालिटीबाट विकासको रफ्तारले तीव्रता पाउने विश्वास उनले व्यक्त गरे । मन्त्री शर्माले कर्णाली प्रदेशबाट समाजवादको आधार तयार गर्नेगरी काम गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

कर्णाली प्रदेशका ८५ हजार पार्टी सदस्यहरु सवै उत्पादनको कार्यमा जोडिने र कोही पनि व्यक्ति अभावमा बाँच्नु नपर्ने गरी आत्मनिर्भरताको योजना बनाउन अगुवा कार्यकर्ताहरुलाई आग्रह गरे । ‘पार्टीका कार्यकर्ता र सदस्यहरु खान लाउन नपाई रुँदै हिडेर समाजवाद आउदैन, हरेक व्यक्ति आर्थिक रुपले आत्मनिर्भर हुनुपर्छ । आत्मनिर्भर कार्यकर्ता भयो भने मात्र समाजवादी क्रान्तिमा योगदान गर्नसक्छ ।’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्