Logo

मिर्गौलापीडितलाई पाँच लाख बढी सहयोग



बागलुङ, २६ मङ्सिर: आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहनु भएकी गलकोट नगरपालिका–१० पाण्डवखानीकी मिर्गौलापीडित १९ वर्षीया मुना सुनारलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।

गलकोट समाज जापान कान्तो क्षत्रीय समितिले सुनारको उपचारार्थ सङ्कलन गरेको रु पाँच लाख ३५ हजार शनिबार उनकी आमा लालमायालाई हस्तान्तरण गरिएको हो ।

नियमित डायलासिसका लागि पैसा नभएपछि उनका परिवारजनले सहयोगको याचना गरेका थिए । अर्थाभावमा उपचारबाटै वञ्चित हुनुपर्ने स्थिति देखेपछि सुनारलाई आर्थिक सहायता प्रदान गरिएको समितिका उपाध्यक्ष हिमाल कँडेलले बताए । जापानमा रहेका नेपालीहरुबाट सो रकम जुटाइएको उनको भनाइ छ ।

अस्पतालको शय्यामा रोगसँग जुधिरहेकी छोरीका लागि प्रवासी नेपालीले पठाएको आर्थिक सहयोग बुझ्दा लालमाया भावुक बनेका थिए। सुनारको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । सहयोग जुट्दै गएमा छोरीको मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ की भन्ने आशमा लालमाया छन् । उनी १५ वर्षदेखि श्रीमान्बाट अलगिएर माइतीमा बस्दै आएका छन् । मिर्गौलापीडित छोरी मुनासहित चार सन्तान र ९८ वर्षीया आमाको लालनपालनको अभिभारा लालमायाकै काँधमा छ ।

दैनिक ज्यालामजदुरी गरेर परिवार धान्ने उनलाई छोरी रोगले थलिएपछि अर्को बज्रपात परेको छ । उपचारमा लाग्ने लाखौँ खर्च कसरी जुटाउने भन्ने पिरलो छ । मुना कक्षा १२ मा अध्ययनरत छन् । रोगले सताएपछि उहाँको पढाइ पनि प्रभावित बनेको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot