Logo

प्रकाशमान, सुजाता र विश्वप्रकाशको साहसिक विद्रोहले कस्तो परिणाम देला ?



काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसमा बनेको नयाँ समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य सुजाता कोइराला र प्रवक्ता विश्वप्रकाश शर्मा मुख्य नेता छन् । सिंह सभापति, कोइराला उपसभापति र शर्मा महामन्त्रीका उम्मेदवार छन् । तीनैजना आ आफ्नो समूहबाट विद्रोह गरेकाहरु हुन् ।

सिंह संस्थापनइतर समूहमा रहेर साझा उम्मेदवार तय हुन नसकेपछि आफ्नै प्यानल बनाएर अगाडि बढे । उनलाई डा. शेखर कोइरालाले भावी प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । शेरबहादुर देउवाले पनि महत्वपूर्ण पदसहित भविष्यमा आफ्नो समूहको नेताका रुपमा स्थापित गर्ने आश्वासन दिएका थिए । तर, कुनैपनि प्रस्तावलाई स्वीकार नगरेर सिंहले जोखिम उठाए ।

सुजाता कोइराला पनि संस्थापनइतर समूहमा थिइन् । उनी कोइराला परिवारकी सदस्य हुन् । तर, आफ्नै दाजु शेखर कोइरालाको समूहमा नबसी विद्रोह गरिन् ।

प्रकाशमान सिंहको समूहमा पुगिन् । उपसभापतिको उम्मेदवार बनिन् । सुजाताले पनि राजनीतिक जीवनमा ठूलो जोखिम उठाएकी छिन् । निडर स्वभावकी सुजाताले यसपटक परिवारभित्र कसैको सुनिनन् । परिवारभन्दा देश र पार्टी ठूलो भन्दै विद्रोह गरिन् ।

विश्वप्रकाश शर्मालाई सभापति शेरबहादुर देउवाले विश्वास गरेर प्रवक्ता बनाए । उनले प्रवक्ताका रुपमा निकै मिहेनत गरे । प्रखर वक्ता शर्माले काँग्रेसको छवि सिंगार्न योगदान गरेका थिए । महामन्त्रीका दाबेदार उनी देउवाको टिममा अटेनन् । उनलाई विभिन्न आश्वासनहरु दिइयो । तर, शर्माले विद्रोह गरे । प्रकाशमान सिंहको समूहबाट महामन्त्रीको उम्मेदवार बने ।

नेपाली राजनीतिमा महत्वपूर्ण योगदान दिएका गणेशमान सिंहलाई त्यागको प्रतिमूर्ति मानिन्छ । उनका पुत्र प्रकाशमान सिंहलाई फेरि त्याग गर्न भनियो । उनले जतिबेला पनि आफ्नो परिवारले मात्र त्याग नगर्ने भन्दै जोखिम मोलेर अगाडि बढे ।

नेपाली राजनीतिका अर्का शिखर पुरुष गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् सुजाता । उनका पिता राजनीतिमा चुर्लुम्म भिजेका मात्र थिएनन् पकड र प्रभाव दुवै देखाउन जान्दथे । गिरिजाप्रसाद कोइराला जोखिम उठाउन सक्ने नेता थिए । यसपटक सुजाताले पनि राजनीतिक जीवनमा जोखिम उठाएकी छिन् ।

प्रकाशमान सिंह र सुजाता कोइराला एक ठाउँमा पुगेपछि काँग्रेसको मात्र नभई देशको राजनीतिमा तरंग आएको छ । त्यसमाथि लोकप्रीय नेता विश्वप्रकाश शर्मा जोडिएका छन् । यो टिम चुस्त दुरुस्त रहेको विश्लेषण काँग्रेसवृत्तमा भइरहेको छ ।

यो टिमले जोखिम उठाएर विद्रोह गरेको छ । यसले कस्तो परिणाम देला ? चासो बनेको छ । काँग्रेसको अबको राजनीतिमा यो टिम जुनसुकै स्थानमा रहेपनि प्रभावशाली बन्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot