Logo

काँग्रेस सभापतिको प्रतिष्पर्धा दोस्रो चरणमा जाने निश्चितप्रायः



काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिमा कसैको पनि बहुमत नआउने स्पष्ट संकेत देखिएको छ । विधान अनुसार पहिलो चरणमा कसैको पनि बहुमत नआए दोस्रो चरणमा पहिलो र दोस्रो हुनेबीच प्रतिष्पर्धा हुन्छ ।

काँग्रेसभित्रको अंकगणित हेदा पहिलो चरणमा शेरबहादुर देउवाले सबैभन्दा बढी मत ल्याउने निश्चित जस्तै छ । उनी बहुमत पुर्याउने माहोल सृजना गर्न विहानसम्म सक्रिय रहे । बढी पकडको मत भएका नेताहरुलाई साथमा लिन खोजे । तर, सफल भएनन् ।

देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइरालासँग सम्पर्क स्थापित गरी पक्षमा तान्न प्रयास गरे । पौडेललाई बोहराटारमै गएर भेटे । तर, दुवै नेता देउवा त के कसैको पक्षमा खुलेनन् ।

पहिलो चरणमा दोस्रो हुने प्रतिष्पर्धा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच चलेको छ । दुवै संस्थापनइतरको मत तान्न सक्रिय छन् । जस्ले इतर समूहको मत बढी तान्छ उही दोस्रो हुन्छ । त्यसपछि तेस्रो हुने निर्णायक शक्ति बन्छ ।

काँग्रेसभित्र कुन शक्ति तेस्रो हुन्छ भन्ने आँकलन समेत सुरु भइसकेको छ । तर, दोस्रो हुनेभन्दा तेस्रो हुने झन् शक्तिशाली हुने घटनाक्रमले देखाएको छ । जो पहिलो र दोस्रो हुन्छ उसलाई तेस्रो हुनेको मत अनिवार्य आवश्यक पर्छ । त्यतिबेला ठूलै राजनीतिक लेनदेन हुनसक्छ ।

पहिलो चरणमै सभापतिमा बाजी मार्ने देउवाको प्रयासलाई उपसभापति विमलेन्द्र निधि र प्रवक्ता विश्वप्रकाश शर्माले विफल पारिदिएका छन् । निधिले देउवाविरुद्ध अभिव्यक्ति दिइसकेका छन् । उनले देउवाविरुद्ध दोस्रो चरणमा दोस्रो हुने उम्मेदवारलाई मतदान गर्ने बताइसकेका छन् । विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलमा महामन्त्रीका उम्मेदवार छन् । शर्माका कारण देउवालाई आउन सक्ने मत घटेको छ ।

अब देउवाले आफूसहित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधरसँग भएको मतमा निर्भर हुनुपर्ने भएको छ । केन्द्रीय सदस्यमा सूचीमा नपरेकाहरु कतिपयले गुट परिवर्तन गर्ने देखिएको छ । यसले पनि केही मत देउवाको घट्नसक्छ । देउवाको सूचीमा नपरेकाहरुको नाम इतर समूहमा राख्न थालिएको छ । यसकारण पनि देउवालाई पहिलो चरणमा जित्न मुश्किल भएको छ ।



प्रतिक्रिया दिनुहोस्