काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. सशांक कोइराला १४औं महाधिवेशनमा तटस्थ भूमिकामा देखिएका छन् । पौडेलले कुनैपनि पदमा उम्मेदवार नदिई बोहराटारस्थित निवासमै छन् ।
महामन्त्री डा. सशांक कोइराला केन्द्रीय सदस्यको उम्मेदवार छन् । उनको नाम सबै प्यानलमा राखिएको छ । सशांक कुनै पक्षमा खुलेका भने छैनन् । सशांकले कुनै पक्षलाई समर्थन गरेको औपचारिक घोषणा गरिसकेका छैनन् । यसबाट पनि रामचन्द्र र सशांक तटस्थ देखिएका छन् ।
पौडेल पक्षमा रहेका धेरै नेताहरु शेखर कोइरालाको प्यानलमा छन् । तर, उनले समर्थन गरेको खुलाएका छैनन् । सशांक निकटहरु पनि सोही प्यानलमा छन् । तैपनि, उनी शेखरको पक्षमा खुलेनन् ।
प्रतिष्पर्धामा रामचन्द्र र सशांक नखुल्नुलाई अर्थपूर्ण मानिएको छ । उनीहरुले देउवालाई समर्थन नगर्ने स्पष्ट पारेका छन् । तर, शेखर र प्रकाशमान दुवैलाई नचिढ्याउन नखुलेको देखिन्छ ।