काठमाडौँ, २७ मङ्सिर। नेपाली कांग्रेसका नेता गगन थापाले भावी पुस्ताले भरोसा गर्ने गतिशील कांग्रेस बनाउन विवेकपूर्ण निर्णय गर्न अपिल गरेका छन् । नेता थापाले ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ बनाउने संकल्प पूरा गर्न पार्टी पुनर्जागरण र रुपान्तरणको अभियानमा साथ, सहयोग र विवेकपूर्ण निर्णय गर्न अपिल गरेका हुन् ।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘नेपाली कांग्रेसलाई कस्तो बनाउने र कस्तो नेतृत्व छनोट गर्ने भन्ने दूरगामी महत्वको क्षणमा हामी छौं । हाम्रो पार्टीको गौरवशाली विगतबाट प्रेरणा लिँदै भावी पुस्ताले भरोसा गर्ने आधुनिक एवं गतिशील कांग्रेस बनाउन हामीले यो महाधिवेशनबाट नयाँ यात्रा थाल्नुछ । यसका लागि पार्टीको विचार, कार्यक्रम र नेतृत्वमा नयाँपन चाहिएको छ। ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ बनाउने हाम्रो संकल्प पूरा गर्न पार्टी पुनर्जागरण र रुपान्तरणको अभियानमा हामीलाई साथ सहयोग र विवेकपूर्ण निर्णय गर्न हार्दिक अपिल गर्दछु।’