Logo

दाहालको अभिव्यक्तिपछि पुँजीबजारमा पहिरोका पहिरो



काठमाडौं, मंसिर २८। दैनिकजसो ओरालो लागेर आजित भएका लगानीकर्ता सोमबार पनि प्यानिक अवस्थामा नै रहे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुँजी बजारलाई साम्राज्यवादको विकसित रूप भनेपछि लगानीकर्ताहरू आतिँदै बचेको सेयर पनि डुब्ने हो कि भन्ने त्रासमा सस्तोमा बेच्न थाल्दा यो स्थिति आएको हो । जसका कारण सोमबार सेयर बजार खुलेको १० मिनेलगत्तै ६७ अंकको पहिरो गयो । १ बजेसम्ममा १ सय २ अंकसम्म घटेको सोमबारको सेयर बजार ७९ अंकले घटेर थामेको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालको शनिबारको अभिव्यक्तिका कारण आइतबार पनि सेयर बजार ८८ अंकले ओरालो लागेको थियो । यद्यपि सोमबार दाहालले एक कार्यक्रममा आफू साना लगानीकर्ताको हितको पक्षमा रहेको अभिव्यक्ति दिएपछि मंगलबार सेयर बजारमा सुधार हुने अपेक्षा गरिएको छ ।

अरू सामान्य रूपमा नै प्यानिक अवस्था रहेको पुँजी बजारलाई गलत अर्थ दिनेगरी दाहालले अभिव्यक्ति दिएका कारण आइतबार र सोमबार गरी दुई दिनमा नेप्से सूचक १६८ अंकले घटेर २२८२ अंकमा झरेको छ । सोमबार दिनभरिमा ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । बजार पुँजीकरणका हिसाबले यी दुई दिनमा लगानीकर्ताले २ खर्ब ३६ अर्ब रुपैयाँ गुमाएका छन् । सोमबार पुँजीकरण ३२ खर्ब ७ अर्बमा आएको छ ।

दाहालले सेयर बजारमा लगानी गरिँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पुँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने शनिबार बताएका थिए । सोमबार नेप्से परिसूचक ७९ अंक अर्थात् ३.३६ प्रतिशतले घटेर २२८२ बिन्दुमा रोकिएको छ ।

नेप्सेमा सूचीकृत २ सय ३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता सेयर किनबेच भएको थियो ।नेप्सेमा रहेका १३ उपसूचक नै सोमबार राताम्य भए । सर्वाधिक घट्नेमा जीवन बिमा समूह र निर्जीवन बिमा रहेको छ । निर्जीवन बिमा समूहको ५४५ रुपैयाँ ९८ पैसा र जीवन बिमा समूहको ४२५ रुपैयाँ ३३ पैसाले घटेको हो ।

सोमबार सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको एकै दिन १८ करोड ३ लाख ५९ हजार ३ सय २ रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कमाउने कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ । कम्पनीको ९.४७ प्रतिशत अंकले वृद्धि भएको हो ।

सोमबार वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.५१ अंक घटेको छ । त्यसैगरी, विकास बैंक र निर्जीवन बिमा उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी घटेको छ । व्यापार, जलविद्युत्, लघुवित्त र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्