काठमाडौं, मंसिर २८। नेपाली कांग्रेस सभापतिका उम्मेदवारहरुको मतगणना राष्ट्रियसभा गृहमा भईरहेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठका अनुसार सभापतिका उम्मेदवारहरुको मत १२ वटा ड्रममा खसालिएको छ ।
सभापतिको टुंगो लागेपछि अन्य पदको मतगणना हुने उनले बताए । अन्य पदको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको हो । मतदान सकिएको करिब डेढ घण्टापछि राष्ट्रियसभा गृहको तीन ठाउँमा मतगणना सुरु भएको छ ।
केन्द्रीय सभापतिका लागि कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा शेखरप्रसाद कोइराला र शेरबहादुर देउवाले उम्मेदवारी दिएका छन् । महाधिवेशनमा चार हजार ४७३ जना प्रतिनिधि छन् ।