Logo

कांग्रेस महाधिवेशनः परिणामबारे आम कौतुहलता, कसले मार्ला बाजी?



काठमाडौं, मंसिर २८। प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान कार्यक्रम राति अबेर सकिएसँगै नतिजाबारे आम कौतुहलता बढेको छ ।

सभापतिका पाँच दाबेदारमध्ये सबैभन्दा बलियो रहेका अनुमान गरिएका वर्तमान सभापति शेरवहादुर देउवाले पहिलो चरणमै बाजी मार्छन् कि रोकिन्छन् भन्ने प्रमुख चासो रहेको छ । अहिले सम्मको गणना अनुसार देउवा झण्डै ८० मतल अगाडी देखिएका छन् । उनलाई कोईरालाले पछ्याई रहेको अवस्था छ ।

कांग्रेस विधानमा सभापतिका लागि दुईभन्दा बढी उम्मेदवार भएमा निर्वाचित हुन कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारको ५० प्रतिशत मत नकटेमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच फेरि निर्वाचन गर्नुपर्ने हुन्छ । अघिल्लो महाधिवेशनमा सभापति देउवाले दोस्रो चरणमा मात्रै जित हात पारेका थिए ।

सभापतिका पाँच उम्मेदवारमध्ये देउवाको प्रतिस्पर्धीका रूपमा डा शेखर कोइराला र प्रकाशमान सिंहलाई हेरिएको छ । विमलेन्द्र निधि र कल्याण गुरुङलाई तुलनात्मकरूपमा कमजोर प्रतिस्पर्धीका रूपमा लिइए पनि उनीहरूले प्राप्त गर्ने मतले पनि सभापतिको निर्वाचन पहिलो चरणमै टुंगिन्छ कि दोस्रो चरणमा जानुपर्ने हुन्छ भन्ने निर्धारण गर्नेछ । पहिलो चरणमै जित हात पार्न नसके दोस्रो चरण देउवाका लागि फलामको चिउरा चपाएसरह हुने देखिएको छ ।

मतदानकै क्रममा देउवा सचिवालयले वरिष्ठ नेता रामचन्द्र पौडेल र डा शशांक कोइराला देउवा प्यानलमा आएको भन्दै भ्रमपूर्ण प्रचार गरेको भन्दै पौडेल र कोइराला सचिवालयले कडा प्रतिवाद गरेको थियो । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्