Logo

शेखर एकतिर सुजाता र सशांक अर्कातिर



काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसमा कोइराला परिवारका तीन नेताहरु डा. शेखर कोइराला, सुजाता कोइराला र डा. सशांक कोइराला फरक धारमा देखिए । शेखर सभापतिमा उठ्दा सुजाता प्रकाशमान सिंहको समूहमा गइन् । सशांक भने तटस्थ बसे ।

कोइराला परिवारभित्रका यी तीन शक्तिशाली नेताहरु बेला बेलामा मिल्ने र विभाजित हुने गर्दै आएका छन् । कुनैबेला सुजाता र सशांक नजिक थिए । पछि सुजाता शेखरसँग नजिकिइन् । फेरि शेखर र सशांकबीच निकटता बढ्यो ।

काँग्रेसको १४औं महाधिवेशनको दौरान शेखर एकतिर र सुजाता अर्कातिर भए । अहिले सुजाता र सशांक नजिकिएका छन् । आज दुवै चाक्सीबारीमा प्रकाशमान सिंहसँग बसेर महत्वपूर्ण सहमति गरे ।

कोइराला परिवार एकढिक्का नहुँदाको सबैभन्दा लाभ सभापति शेरबहादुर देउवाले लिए । तीनैजना एक भएर सिंहलाई समेत सहमतिमा ल्याएको भए चुनावी परिणाम फरक हुने देखियो । तर, शेखर कोइराला उनको परिवारभित्रैबाट स्वीकार्य भएनन् । यसले उनलाई ठूलो धक्का परेको देखियो ।

सुजाता किन शेखरबाट यति टाढिइन् भन्ने चासोको विषय बनेको छ । विगतमा उनी शेखरलाई नै बढी विश्वास गर्थिन् । १३औं महाधिवेशनमा सभापतिको दाबेदारीबाट पछि हट्दा शेखरले नै कन्भिन्स गरेका थिए । त्यतिबेला मण्डिखाटारमा पत्रकार सम्मेलन गरेर सुजाताले रामचन्द्र पौडेललाई समर्थनको घोषणा गरेकी थिइन् ।

यसपटक शेखरबाट सुजाता कन्भिन्स भइनन् । उनी अन्तिम समयमा कित्ता परिवर्तन गरी प्रकाशमानको साथ गइन् । चुनावी प्रतिष्पर्धामा सिंह तेस्रो स्थानमा पुगे । यसले उनलाई निर्णायक शक्ति बनायो । साथै सुजाताको पनि राजनीतिक हैसियत ह्वात्तै बढाइदियो ।

धेरैपछि आज मण्डिखाटारमा शक्तिशाली नेताहरु पुगे । सुजातालाई साथमा लिन देउवा र शेखर कोइरालानिकटस्थहरु पुगेका थिए । तर, उनी चाक्सीबारी पुगेर टिमलाई कायमै राख्ने निर्णयका साथ बसिन् । जहाँ उनीसहित सिंहलाई भेट्न देउवा आफै पुगे । पछि चाक्सीबारीमा सशांक पनि पुगे । त्यहाँ प्रकाशमान, सुजाता र सशांकबीच एक भएर जाने सहमति बन्यो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot