काठमाडौँ, २८ मंसिर । नेकपा एमालेको पोलिटब्यूरो कमिटी गठन भएको छ । आइतबार भक्तपुरमा भएको एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पोलिटब्यूरो सदस्यको टुंगो लगाएको हो । एकताको सन्देश दिएर चितवनमा भर्खरै महाधिवेशन सम्पन्न गरेको एमालेभित्र पोलिटब्यूरो सदस्यको मनोनयनलाई लिएर असन्तुष्टिका स्वरहरु सुनिन थालेका छन् । कतिपयले पार्टीमा उचित योगदानको मूल्याङ्कन नभएको बताइरहेका छन् ।
कचितवन महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित नेतृ भगवती चौधरी पोलिटब्यूरो कमिटीमा समेत नपर्दा अन्याय भएको उनको सचिवालयले बताएको छ । पूर्वराज्यमन्त्री समेत भइसकेकी नेतृ चौधरीलाई पार्टीले प्रोत्साहन गर्नुको सट्टा निरुत्साहन गरेको सचिवालयले जनाएको छ ।
सचिवालयले भन्यो, ‘जनताले जिताए पनि पार्टीले समर्थन नगर्दा दुई–दुई पटक संसदीय निर्वाचनमा सुनसरीमा हारको सामना गर्नुपर्यो । सुनसरी जिल्लामा पार्टीको अन्तरसंघर्षलाई मिलाउनका लागि मैले खेलेको भूमिका पार्टीले बिर्सियोजस्तो लाग्यो ।’ पार्टीमा अन्तरसंघर्ष चुलिएको बेला केपी ओलीको पक्षमा सँधै खम्बा बनेकी चौधरीलाई ओलीले भने वेवास्ता गरेका हुन् ।
आफूभन्दा जुनियरहरुलाई माथिल्लो तहमा पुर्याए पनि पार्टीलाई योगदान दिएका आफूजस्ता नेता कार्यकर्तालाई सँधै अन्याय गरेको नेतृ चौधरीको सचिवालयको दाबी छ । ‘नवौँ महाधिवेशनमा निर्वाचित भएको मान्छेलाई नराखेर अरुलाई राखियो । स्वरोजगारको क्षेत्रमा ठूलो योगदान गर्नेलाई नराख्नु यो त अन्याय भयो,’ सचिवालयको भनाई छ ।
आइतबार एमालेको केन्द्रीय कमिटीको बैठकले ८० जना केन्द्रीय सदस्यलाई पोलिटब्यूरो सदस्य बनाएको थियो ।