काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसमा १४औं महाधिवेशनबाट ४ समूह स्थापित भएका छन् । विगतमा रहेका दुई समूहको विलय भएको छ ।
सभापति शेरबहादुर देउवाको समूह सबैभन्दा बलियो बनेको छ । उनी बहुमतका साथ दोस्रो चरणको मतदानबाट सभापतिमा निर्वाचित भए । देउवाको समूहमा कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, विजयकुमार गच्छेदार, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, एनपी साउद, रमेश लेखकलगायत हस्तीहरु देखिएका छन् ।
दोस्रो समूह डा. शेखर कोइरालाले नेतृत्व गरेका छन् । यो समूह भर्खरै सृजना भएको हो । कोइराला सभापतिमा देउवाबाट पराजित भए । उनको समूहमा चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, डा. मीनेन्द्र रिजाल जस्ता हस्ती नेताहरु देखिएका छन् । पाका नेता अर्जुननरसिंह केसी, बलबहादुर केसी पनि यही समूहमा छन् ।
तेस्रो समूह प्रकाशमान सिंहको नेतृत्वमा जन्मिएको छ । सिंह सभापतिको पहिलो चरणको मतदानमा तेस्रो स्थानमा पुगे । उनको समूहमा सुजाता कोइराला, विश्वप्रकाश शर्मा, राजन केसी जस्ता नेताहरु छन् । यो समूह सभापतिको दोस्रो चरणको मतदानमा निर्णायक बन्यो ।
चौंथो समूह विमलेन्द्र निधिको देखिएको छ । निधिले सभापतिको प्रतिष्पर्धामा चौंथो स्थान हासिल गरेका थिए । उनको समूहमा हस्ती नेताहरु छैनन् । उनी कुनै एक समूहमा जोडिएर मजबुत बन्ने सम्भावना बलियो छ ।
रामचन्द्र पौडेल र डा. सशांक कोइराला तटस्थ छन् । उनीहरुको भूमिका अझै स्पष्ट छैन ।