Logo

फेवातालमा माछाका भुरा छाडियो (फोटोफिचर)



पोखरा, २९ मंसिर । पोखराको फेवातालमा १६ हजार माछाका भुरा छोडिएको छ । पोखरा महानगर पालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले पोखरा १८ खपौदीमा आयोजित कार्यक्रममा फेवातालमा माछाका भुरा छाडेकी हुन् ।

कार्यवाहक प्रमुख गुरुङले फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गर्दै तालका माछालाई ‘ब्राण्डिङ’ गर्नुपर्नमा जोड दिएकी थिइन् ।

कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले फेवाताललाई थप आकर्षण बनाउन माछाको बारेमा अध्ययन गर्न थलोको रुपमा विकास गर्न सकिने धारणा राखेका थिए ।

पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले फेवातालको स्वच्छ र सफा माछालाई ब्राण्डिङ गरेर बिक्री वितरणका लागि बजारीकरण र विविधीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

स्थानीय ज्ञानबहादुर जलारीले फेवातालमा करेन्ट र विषादी प्रयोगले स्थानीय जातका माछा लोप हुँदै गएको र सम्बन्धित निकायले चासो नदिएको बताए । जलारी समुदायको जीवनयापनको आधार भएको माछा भएको र यसको लागि उत्पादन संरक्षणमा महानगरले विशेष चासो दिनुपर्ने उनको भनाइ थियो ।

उक्त वडाका अध्यक्ष रणबहादुर थापाको सिल्भर काप र विगहेड जातका १६ हजार माछा तालमा छाडिएको जानकारी दिए । उनले वडास्तरीय बजेटबाट तालमा माछाका भुरा छाडिएको जनाउँदै माछाबाट स्थानीय जलारी समुदायको जीवनस्तर उकास्न सहज भएको धारणा राखे । रासस /तस्वीरः जमुना वर्षा शर्मा



प्रतिक्रिया दिनुहोस्