Logo

काँग्रेस राजनीतिमा कोइराला परिवारका तीन सदस्यले यसरी शक्ति आर्जन गरे



काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसको राजनीतिमा कोइराला परिवारको महत्वपूर्ण योगदान छ । काँग्रेस संस्थापक नेताहरु वीपी कोइराला र मातृकाप्रसाद कोइराला यही परिवारका हुन् । गिरिजाप्रसाद कोइराला पछि सुशील कोइरालाले काँग्रेसको नेतृत्व सम्हाले । त्यसपछि भने कोइराला परिवारको हातबाट काँग्रेसको बागडोर अन्तै गयो ।

सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेल कार्यवाहक सभापति बने । अवस्था यस्तो आयो कि काँग्रेस नेतृत्वको बागडोर कोइराला परिवारको सदस्यको हातबाट गयो । १३औं महाधिवेशनमा देउवाले पौडेललाई हराए । पौडेल पक्षमा रहेका सशांक कोइराला महामन्त्री निर्वाचित भए । शेखर कोइराला र सुजाता कोइराला केन्द्रीय सदस्य निर्वाचित भए ।

१३औं महाधिवेशनपछि राजनीतिको केन्द्रबाट कोइराला परिवार केही पर धकेलिए । तर, १४औं महाधिवेशनमा आइपुग्दा डा. शेखर कोइराला सभापतिको उम्मेदवार बने । कोइराला परिवारको सदस्य काँग्रेसको दोस्रो धारको नेता बनेर आए । रोचक पक्ष यो छ कि कोइराला परिवारकी सुजाता प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिको उम्मेदवार बनिन् । डा. सशांक कोइराला तटस्थ बसे । उनी सबै प्यानलमा केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा राखिए ।

अहिले काँग्रेसको राजनीतिमा शेखर शक्तिशाली बन्दा सुजाताले पनि रणनीतिक रुपमा आफूलाई विगतभन्दा प्रभावशाली देखाएकी छिन् । उनले पुनः शक्ति आर्जन गरेको विश्लेषण भइरहेको छ । सशांकले पनि रणनीतिक चार्तुयता देखाए । उनी कुनै पक्षमा खुलेनन् ।

काँग्रेसको राजनीतिमा कोइराला परिवार एकढिक्का नभएको देखियो । उनीहरुभित्र शक्तिको महत्वाकांक्षा स्पष्ट झल्कियो । साथै एकले अर्कालाई नस्वीकार्ने स्वभाव पनि हावी भयो । राजनीतिमा सबैभन्दा सिनियर सुजाता र उमेरमा सबैभन्दा सिनियर शेखर हुन् । सशांक सबैभन्दा कान्छा हुन् । उमेर र राजनीतिक अनुभवको विषय उठ्दा कुरा बेमेल देखियो ।

जे जस्तो घटना विकास भएपनि काँग्रेसको राजनीतिमा कोइराला परिवारले यसपटक शक्ति आर्जन गर्यो । उनीहरुले फरक समूहको नेतृत्व गर्ने देखि अर्को समूहमा पुगेर शक्ति आर्जन गर्ने चार्तुयता देखाए । यसले भविष्यमा कोइराला परिवारलाई पुनः काँग्रेसको बागडोर सम्हाल्ने अवस्थामा पुर्याउने संकेतहरु देखाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot