Logo

ज्ञानेन्द्र र प्रचण्डबीच ५ बुँदे सहमति भएको थियो ?



काठमाडौं, २९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन सशस्त्र जनयुद्ध गरेको प्रचण्डबीच १८ वर्ष अघि एउटा सहमति भएको सनसनीपूर्ण अभिव्यक्ति दिएका छन् । उनले मिति र गते नै तोकेर सहमतिको विषय उठाएपछि राजनीतिवृत्तमा तरंग आएको छ ।

१८ मंसिर २०६० मा ज्ञानेन्द्र र प्रचण्डबीच ५ बुँदे सहमति भएको दाबी पूर्वप्रधानमन्त्री ओलीबाट हुनुलाई अर्थपूर्ण मानिएको छ । त्यतिबेला ज्ञानेन्द्र शाह सक्रिय शासनमा थिए । प्रचण्ड सशस्त्र जनयुद्ध गरिरहेको माओवादीको नेतृत्वमा थिए ।

त्यतिबेला माओवादीबाट राष्ट्रवादी शक्तिसँगको सहमतिको विषय आउने गरेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र निकटस्थले माओवादीलाई राष्ट्रवादी शक्ति भन्दै सामिप्यता बनाएका थिए ।

दरबार र माओवादीबीच सहमतिको पहल समेत भएको चर्चा चलेको थियो । माओवादीलाई साथमा लिएर दरबार अगाडि बढ्ने रणनीति समेत बनेको थियो । त्यो पछि असफल भयो ।

माओवादीले त्यतिबेला देखि नै राजनीतिक दल देखि राजासम्मलाई प्रयोग गरेको चर्चा चल्यो । यतिसम्मकी विदेशी शक्तिलाई समेत माओवादीले प्रयोग गरेको चर्चाहरु चले ।

ओलीले मिति तोकेर ज्ञानेन्द्र र प्रचण्डबीचको ५ बुँदे सहमतिको कुरा गरेपनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन । उनले यसबारे कि प्रचण्डले कि ज्ञानेन्द्रले प्रष्ट पार्नुपर्ने बताएका छन् ।

पछिल्लो समय प्रचण्डले ओलीमाथि राजतन्त्र फर्काउन खोजेको आरोप लगाउन थालेपछि ओली आक्रामक रुपमा प्रस्तुत भएका छन् । तर, उनले जे भनेका छन् त्यसले राजनीतिक तरंग ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot