Logo

भूतपूर्व गोर्खा सैनिकको पेन्सन बढ्ने



काठमाडौं, पुस १। बेलायती रक्षा मन्त्रालयले गोर्खा भूतपूर्व सैनिकको पेन्सन बढाउने भएको छ । बेलायती रक्षा मन्त्रालयले सो जानकारी लन्डनस्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयमा पठाएको छ ।

बेलायतले २१ वर्षअघि भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा १ सय ४० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । सो प्रतिबद्धता लामो समय कार्यान्वयनमा आउन सकेको थिएन । पछिल्लो समय गोर्खा भूतपूर्व सैनिकले बेलायती सैनिकभन्दा एक तिहाइ कम पेन्सन दिइएको भन्दै विरोध गर्दै आएको थियो । लामो समयदेखि बेलायती नागरिक र नेपाली नागरिकमा असमान पेन्सन भएको भन्दै विरोध गर्दै आएका गोर्खा भूतपूर्व सैनिक धर्ना बसेका थिए ।

गत सेप्टेम्बरमा गोर्खा भूतपूर्व सैनिकले धर्ना बसेपछि बेलायती रक्षामन्त्री बेन वालेस आफैं उपस्थित भएर आन्दोलनरत भूतपूर्व गोर्खा सैनिकको १३ दिन लामो धर्ना तोडाएका थिए । रक्षामन्त्री वालेसले सन् २०२१ भित्र गोर्खा सैनिकको माग पूरा गर्ने प्रतिबद्धता व्यक्तसमेत गरेका थिए ।

नेपाल सरकारले भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि बेलायतसँग संवादको पहल थाल्नका लागि समिति बनाउने जनाइसकेको छ । तर, हाल बेलायतमा नेपालको राजदूत नभएकाले समिति गठन भई संवादको प्रक्रिया अगाडि बढ्न सकेको छैन । नेपाल सरकारले राजदूतस्तरमा समिति बनाएर पहल गर्ने जनाएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot