Logo

सुजाता कोइरालाले भनिन्ः मैले आफूलाई विजयी ठानेको छु



काठमाडौं, १ पौष । नेपाली काँग्रेसको उपसभापतिको प्रतिष्पर्धामा पराजित सुजाता कोइरालाले पार्टीको १४औं महाधिवेशनमा आफूलाई विजयी ठानेको टिप्पणी गरेकी छिन् । उनले आफूले लैङ्गिक समानताको मुद्दालाई उठाएर राष्ट्रिय अन्तर्राष्ट्रिय चासो बढेको भन्दै विजयी ठानेको बताएकी हुन् ।

‘मैले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको छु,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘काँग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैंले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको छ ।’

सुजाताले देशको कुना काप्चाबाट महाधिवेशनमा सहभागी महिलाको मुहारमा आशा र उत्साह देखेबाट आफूलाई हौसला थपेको बताइन् । उनले नेपाली काँग्रेसमा निकट भविष्यमा महिला नेतृत्व आउनसक्ने मार्ग कोरिएको बताइन् ।

उनले चुनावमा विजयी पूर्णबहादुर खड्का र धनराज गुरुङलाई बधाई शुभकामना दिएकी छिन् ।

सुजाताले फेसबुकमा लेखेकी छिन्ः
नेपाली काँग्रेसको १४औं महाधिवेशनमा म र मेरो टिमलाई अमूल्य मत दिने सबैमा हृदयदेखि धन्यवाद दिन्छु । तपाईंहरुले दिनुभएको अमूल्य मतको सधै सम्मान गर्नेछु । मैंले उठाउँदै आएको लैङ्गिगलगायत सबै किसिमका अससमानताको विरुद्ध अविचलित रही लडिरहने प्रण गर्दछु ।

मैंले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको छु । काँग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैंले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको छ । देशको कुनाकाप्चाबाट महाधिवेशनमा सहभागी भएका पार्टीका साथीहरु विशेषगरी महिलाहरुको मुहारमा आशा र उत्साह देखेको छु । यसले मलाई अझै हौसला थपेको छ ।

मैंले उपसभापति जस्तो महत्वपूर्ण पदमा मत माग्दै गर्दा हजारौं महिलाहरुमा जुन हौसला देखें त्यसले निकट भविष्यमा महिला काँग्रेसको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको छ । यो मेरा लागि राजनीतिक जीत हो । म भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिवद्ध भई समानताको यो संघर्षमा अविचलित रही बढिरहने प्रण गर्दछु ।

पिताजी गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट सधै प्रेरित छु । पार्टीभित्र र सिंगो देशमा सहमति, सहकार्य र एकताको खाँचो छ । म सबैलाई महाधिवेशनपछि एकढिक्का हुन अपिल गर्दछु । नेपाली काँग्रेस एकढिक्का भएमात्र लोकतन्त्र बलियो हुन्छ । मेरो अबको भूमिका काँग्रेसलाई एकतावद्ध बनाउन पनि हुनेछ ।

अन्तमाः उपसभापतिमा विजयी पूर्णबहादुर खड्का र धनराज गुरुङलाई हार्दिक बधाई दिदै सफल कार्यकालको कामना गर्दछु ।

धन्यवाद !
सुजाता कोइराला



प्रतिक्रिया दिनुहोस्