काठमाडौं, १ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको प्रतिष्पर्धालाई रोचक मानिएको थियो । पटक पटक मन्त्री भइसकेका हस्ती नेताहरु डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महतका अलावा लोकप्रीय युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेले मैदानमा थिए । उनीहरु तीनवटा छुट्टाछुट्टै प्यानलबाट उम्मेदवार बने ।
आधाभन्दा बढी मतगणना हुँदा ५ उम्मेदवारमध्ये गगन थापा निकै लोकप्रीय मत ल्याउन सफल भइसकेका छन् । उनी जितको नजिक पुगिसके ।
गगन पछि विश्वप्रकाश शर्मा बलिया देखिएका छन् । उनी दोस्रो स्थानमा छन् । शर्मा पनि जितको सम्भावनासहित बढेका छन् ।
डा. प्रकाशशरण महत र प्रदीप पौडेलले विश्वप्रकाश शर्मालाई पछ्याइरहेका छन् । तर, रक्षामन्त्री समेत रहेका रिजाल निकै पछि परेका छन् । उनी पराजित हुने निश्चितप्रायः भइसकेको छ ।
महामन्त्रीका ६ जना प्रतिष्पर्धीमध्ये डा. राजाराम कार्की कमै सुनिएका नाम हुन् । त्यसबाहेक ५ जनामध्ये मीनेन्द्र रिजाल निकै कमजोर देखिएका छन् । उनले दोस्रो स्थानका विश्वप्रकाश शर्माको भन्दा आधा भन्दा कम मत ल्याएर बढिरहेका छन् ।