काठमाडौं, १ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई ठूलो धक्का लागेको छ । उनी महाविधेशनमा कुनै पनि पदमा उम्मेदवार भएनन् । उनले सारेका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेल पनि पराजित भएका छन् ।
पौडेललाई महामन्त्री बनाउन सिटौलाले निकै मिहेनत गरे । सभापति शेरबहादुर देउवासँग समिकरण बनाए । यस क्रममा पौडेललाई उम्मेदवार बनाउन देउवाले हस्तीहरुलाई उम्मेदवार बन्नबाट रोके । बालकृष्ण खाँड, एनपी साउद, विश्वप्रकाश शर्मा जस्ता हस्तीहरु महामन्त्रीका दाबेदार थिए । सबैलाई पछि हटाए । शर्मा प्यानल परिवर्तन गरी प्रकाशमान सिंहको पक्षमा लागे । उनी विजयी भए ।
विगतमा सिटौलाको समूहमा रहेका गगन थापा शेखर कोइरालाको समूहमा गएर लोकप्रीय मतका साथ महामन्त्री जिते । तर, उनले अगाडि सारेका पौडेल पराजित भए ।
पौडेलको पराजयले सिटौला निकै कमजोर देखिएका छन् । देउवा पक्षभित्र यस विषयले ठूलै तरंग आएको छ । सिटौलालाई देउवा पक्षका कतिपय नेताले स्वीकारेका थिएनन् । असन्तुष्टिको परिणाम पौडेल पराजित भए । उनी मत परिणाममा चौंथो स्थानमा पुगे ।
पार्टीको आन्तरिक चुनावी प्रतिष्पर्धामा भाग नलिएपनि सिटौलाले पदाधिकारी र केन्द्रीय सदस्यमा निकटस्थलाई देउवा प्यानलमा राख्न सकेका थिए । तर, पौडेलको पराजयले उनीहरुको अवस्थाबारे समेत चर्चा हुन थालेको छ ।