काठमाडौं, १ पौष । नेपाली काँग्रेसमा वर्तमानको सबैभन्दा पुरानो पुस्ता हो सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलको । देउवा दोस्रो पटक सभापतिमा निर्वाचित भए । यसका लागि उनले निकै मिहेनत गर्नुपर्यो ।
देउवाले सभापतिमा चुनाव लड्दा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला मैदान बाहिर गए । पौडेल र सिटौला १३औं महाधिवेशनमा देउवाका प्रतिष्पर्धी थिए । मैदानमा दुई नेता आएनन् । यो काँग्रेसमा पछिल्लो पुस्ताका लागि अवसर पनि थियो ।
पौडेल तटस्थ बसेको घोषणा गरे । सिटौलाले देउवालाई सघाए ।
देउवा र पौडेलपछिको पुस्ताका डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि सभापतिको प्रतिष्पर्धामा उत्रिए । कोइराला दोस्रो चरणमा देउवासँग पराजित भए । उनले आफूलाई शक्तिका रुपमा उभ्याए ।
सिंह र निधि पनि दोस्रो चरणमा निर्णायक शक्ति बने । उनीहरुले देउवालाई सघाए । काँग्रेसको राजनीतिमा नेतृत्वको दौडमा देउवापछिको पुस्ताले जोडबल गरेको थियो । तर, एक हुन नसक्दा असफल भयो । सिंह र निधि पनि काँग्रेसमा फरक धारको शक्तिका रुपमा देखापरे । सशांक कोइरालाले तटस्थ भूमिका निभाएर फरक रणनीति अपनाए । सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिएर आफू राजनीतिक मैदानमा अझै रहेको सन्देश दिइन् । महेश आचार्यले पनि त्यसै गरे ।
काँग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भए । पराजित विजयकुमार गच्छेदार काँग्रेस कार्यकर्ताबाट पदाधिकारीमा अस्वीकृत भए । खड्का र गुरुङ काँग्रेसमा बलियो गरी स्थापित भए । चन्द्र भण्डारी पराजित भए । उनले पनि आफ्नो प्रभाव देखाउन सके ।
महामन्त्रीमा त्यसपछिको पुस्ताका विश्वप्रकाश शर्मा र गगन थापा विजयी भए । दुवै विद्यार्थी राजनीतिबाट आएका हुन् । लोकप्रीय नेताहरु थापा र शर्मा विजयी हुँदा डा. प्रकाशशरण महत र डा. मीनेन्द्र रिजाल पराजित भए । यसले दुवैलाई धक्का लागेको छ । आफूभन्दा पछिल्लो पुस्ताबाट पराजित भएका नेताहरुले नयाँ पुस्ताबाट धक्का खाए । पराजित भएपनि प्रदीप पौडेल काँग्रेसको राजनीतिमा अझ बलियो रुपमा स्थापित भएका छन् ।
काँग्रेसमा लामो समययता नेतृत्वमा जाम थियो । यसपटक त्यो धेरै हदमा खुलेको छ । ८० को हाराहारीका धेरै नेता पाखा लाग्न वाध्यकारी अवस्था बन्यो । ७० कटेकामध्ये शेखर कोइराला भावी नेतृत्वका लागि स्थापित देखिए । ६० कटेका पूर्णबहादुर खड्का, चन्द्र भण्डारी जस्ता नेताहरु पनि प्रभावकारी देखिए ।
५० कटेका कतिपय नेताहरु पनि स्थापित देखिए । जसमध्ये विश्वप्रकाश शर्मा पनि हुन । ४० कटेका गगन थापा काँग्रेसको राजनीतिमा छलाङ मार्न सफल भएका छन् । गगन थापा यसको उदाहरण हुन् । प्रदीप पौडेल चुनावमा पराजित भएपनि स्थापित देखिए ।
काँग्रेसमा पुरानो पुस्ताको ठाउँ नयाँ पुस्ताले लिनेगरी परिवर्तनहरु देखिएका छन् । विश्वप्रकाश शर्माले यसलाई रुपान्तरको प्रक्रिया भनेका छन् । काँग्रेसमा अब नेतृत्वमा भएको जाम विस्तारै हट्ने संकेतहरु देखिएका छन् ।