Logo

गगन थापाको अग्निपरीक्षा



काठमाडौं, १ पौष । नेपाली काँग्रेसको महामन्त्रीमा विजयी हुँदा गगन थापाले अत्याधिक बहुमत ल्याए । उनले ल्याएको लोकप्रीय मतभार भविष्यका लागि चुनौती पनि बनेको छ ।

काँग्रेसभित्र परिवर्तन र रुपान्तरणको आवाज उठाउँदै आएका थापाले शेखर कोइरालाको प्यानलबाट उम्मेदवारी दिएका थिए । १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको प्यानलबाट महामन्त्रीमा पराजित भएका थिए ।

पछिल्ला ६ वर्षमा उनले संगठनमा पकड बनाउन निकै मिहेनत गरेको देखिन्छ । परिणामले यही देखाएको छ ।

थापा विगतमा नेतृत्वको समेत चर्को आलोचना गर्थे । उनका मुद्दाहरुले काँग्रेस नेतृत्व दबाबमा पर्दथ्यो । तर, अब उनी आफै नेतृत्व तहमा पुगेका छन् । उनले काँग्रेसको शक्तिशाली पद महामन्त्रीमा कसरी जिम्मेवारी बहन गर्ने हुन् चासोमा परेको छ ।

नयाँ पुस्ताका गगन थापासँगै विश्वप्रकाश शर्मा महामन्त्री बन्दा पुराना पुस्ताका हस्तीहरु पराजित भएका छन् । नयाँ पुस्ताका नेताहरुले जिम्मेवारीपूर्वक काम गर्न सके भविष्यमा काँग्रेसमा नयाँ पुस्ताको हातमा नेतृत्व चाँडै पुग्न सक्छ । अन्यथा पुरानै पुस्तालाई अझ मजबुत हुने बल पुग्छ । यसकारण पनि थापाका सामु महामन्त्रीको कार्यकाल अग्निपरीक्षा बनेको छ ।

पदाधिकारीमा विजयी थापासँग नेविसंघको राजनीतिमा सँगालेको अनुभव छ । त्रीचन्द्र क्याम्पसमा अध्ययन गर्दा उनी राजनीतिमा होमिए । नेविसंघमा लागेर २०५१ मा त्रिचन्द्र क्याम्पसको स्ववियू सदस्यमा निर्वाचित भए । त्यसपछि सचिव अनि सभापति निर्वाचित भए । यसले उनलाई राजनीतिमा उचाई प्रदान गर्दै लग्यो । नेविसंघको महामन्त्री बने ।

२०५९ देखि २०६१ मा नेविसंघको महामन्त्री बन्दा तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनका घटनाहरु भए । त्यतिबेला प्रखर वक्ता गगन थापा लोकप्रीय बने । उनले राज्यबाट राजकाजको मुद्दाको सामना गर्नुपरेको थियो । यसले उनलाई अझ लोकप्रीयताको शिखरमा पुर्यायो । गगन थापा युवाहरुमाझ आशाको केन्द्र बन्दै गए ।

थापाले आफ्ना समकालिन मात्र नभई सिनियर नेताहरुलाई पनि उछिने । २०६४ को संविधानसभामा काठमाडौंबाट निर्वाचन लड्न खोजे तर अवसर पाएनन् ।

समानुपातिकतर्फको सांसद बने । दोस्रो संविधानसभामा काठमाडौं क्षेत्र नं ४ बाट उम्मेदवार भई निर्वाचित भए ।

काँग्रेसको १२औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार भई पराजित भए । तर, कृष्णप्रसाद सिटौलाको समूहमा रहेका उनले त्यहींबाट अर्को फड्को मारे । सिटौला समूहबाट सरकारमा सहभागी हुन पाए । उनी स्वास्थ्यमन्त्री बने । स्वास्थ्यमन्त्री हुँदा किड्नीका विरामीको निःशुल्क डाइगनोसिस गर्ने निर्णय गराएर लोकप्रीय बने ।

थापाले हरेक अवसरलाई खेर फालेनन् । काँग्रेसभित्र लोकप्रीय नेताको खडेरी हुँदा उनी नै अगाडि देखिए । जसका कारण उनका प्यानलका सभापतिका उम्मेदवार डा. शेखर कोइराला पराजित हुँदा पनि महामन्त्रीमा भारी मतले विजयी भए । अब उनले भविष्यमा जिम्मेवारीमा पुगेर कस्तो भूमिका निर्वाह गर्ने हुन् ? प्रतिक्षाको विषय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot