काठमडौं, २ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्रीमा विजयी गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त १३ सय मत पाए । दुवै फरक प्यानलका उम्मेदवार भएपनि संयुक्त मत १३ सय पाएपछि धेरै आश्चर्यचकित भएका छन् ।
गगन डा. शेखर कोइराला र विश्वप्रकाश प्रकाशमान सिंह समूहबाट उम्मेदवार भएका थिए । दुवैका प्यानलका सभापति पराजित भए । तर, महामन्त्रीमा बाजी मारे ।
थापा र शर्माले १३ सय संयुक्त मत पाउँदा देउवा प्यानलका प्रकाशशरण र प्रदीप दुवैलाई दिइएको मत संख्या ६ सय छ । एउटै प्यानलको संयुक्त मत ६ सय र फरक समूहका गगन र विश्वप्रकाशले पाएको संयुक्त मत त्यो भन्दा दोब्बर बढी छ ।
फरक प्यानलका प्रकाशशरण र गगन थापाले संयुक्त ३ सय मत पाएका छन् । प्रकाशशरण र विश्वप्रकाशले संयुक्त ५५० मत पाए । यसको अर्थ देउवा प्यानलबाट विश्वप्रकाशलाई ५५० जति मत क्रस भयो ।
प्रदीप पौडेल र गगन थापाले संयुक्त ६ सय मत पाए । यो मत दुवै प्यानलको देखिन्छ । प्रकाशशरणसँग विश्वप्रकाशले संयुक्त ६६ मत पाए । मीनेन्द्रसँग संयुक्त ५० मत प्राप्त गरे ।
गगन र विश्वप्रकाशको संयुक्त मत सबैभन्दा बढी १३ सय छ । त्यसपछि प्रदीपसँग संयुक्त ६ सय, प्रकाशशरणसँग ३ सय र एकल २७३ छ ।
गगनको एउटै प्यानलका मीनेन्द्र रिजालसँग जम्मा ५५० मत छ । जबकि यो प्यानलको मत १७ सय देखिन्छ ।
देउवा प्यानलबाट प्रदीप र प्रकाशरणलाई भन्दा बढी मत विश्वप्रकाश र गगन थापालाई गएको देखिन्छ ।