Logo

एमालेले चुनावमा फेरि धक्का खानसक्ने



काठमाडौं, २ पौष । नेकपा एमाले विभजित भएपछि एकपछि अर्को गर्दै शक्ति गुमाइरहेको छ । माधव कुमार नेपालले एमाले छाडी नेकपा एकीकृत समाजवादी गठन गरेपछि एमालेले निरन्तर शक्ति गुमाइरहेको हो ।

एमाले नफुट्दै भएको विवादले उसले राष्ट्रियसभाको उपनिर्वाचनमा धक्का खाएको थियो । त्यसपछि अध्यक्ष केपी शर्मा ओली सरकारबाट हट्ने परिस्थिति बन्यो । अहिले फेरि एमालेले राष्ट्रिय सभाको निर्वाचनमा सिट गुमाउने अवस्था बनेको छ ।

१२ माघमा राष्ट्रियसभाको रिक्त १९ सिटमा मतदान हुनेछ । मतभारका हिसाबले राष्ट्रियसभामा सदस्य चयन हुनेछन् । मतभार हेर्दा एमालेले यसअघि जितेकोमध्ये ५ सिट जति गुमाउने देखिदैछ ।

राष्ट्रियसभाका २० सांसदले चार वर्षे कार्यकाल २० फागुनमा पूरा हुँदैछ । त्यस अघि नै १ मनोनितबाहेक १९ सांसदका लागि निर्वाचन आयोगले निर्वाचन गर्दैछ । एमालेले अब सत्ता गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनको चुनौती सामना गर्नुपर्ने भएको छ । गठबन्धन गुमेमा एमालेले कम्तिमा ५ सिट गुमाउनेछ ।

४ वर्षे कार्यकाल पूरा गर्न लागेकामा एमालेका ८, माओवादीका ४, नेकपा एसका ४, काँग्रेसका ३ र मनोनित १ छन् ।

प्रदेशबाट निर्वाचित हुने सांसदहरुको चुनाव तय भएको छ । जसमध्ये एमाले प्रदेश १ मा मात्र सत्ता गठबन्धनभन्दा बढी मतभारको अवस्थामा छ ।

राष्ट्रियसभामा प्रदेशतर्फ प्रदेश सांसद, स्थानीय निकायका पालिका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । प्रदेश सांसदको प्रत्येकको मतभार ४८ र पालिका प्रमुख वा उपप्रमुख प्रत्येकको मतभार १८ हुने व्यवस्था छ । यसलाई आधार मान्दा प्रदेश १ मा एमालेको मतभार ४५४२ छ । गठबन्धन दलको ४४६४ र अन्य दलको ३४२ छ । अन्य दल मिलेमा एमालेलाई प्रदेश १ मा ठूलो चुनौती छ ।

प्रदेश २ मा एमालेको ९४२ हुँदा गठबन्धनको ७१९४ छ । त्यहाँ गठबन्धनको जसपा बलियो छ । लोसपासहित अन्यको १७४२ मतभार छ । एमालेले लोसपासँग मिलेर चुनाव लड्ने सम्भावना छ । त्यतिबेला गठबन्धनलाई चुनौती बन्न सक्छ । एमालेले लोसपा मिलेर सिट जोगाउने मात्र विकल्प छ । राष्ट्रियसभामा कार्यकाल सकिन लागेका १ एमाले सांसद छन् । विभाजनको ठूलो असर परेकाले राष्ट्रियसभामा प्रदेश २ बाट एमाले सुन्य सिटमा पुग्न सक्छ ।

बागमती प्रदेशमा एमालेको ४१४२ हुँदा गठबन्धनको ४८९० छ । विवेकशील, राप्रपासहित अन्यको ४७४ छ । गठबन्धन बहुमतमा रहेको छ । बागमतीमा एमालेलाई सबैभन्दा ठूलो धक्का पर्ने देखिन्छ ।

गण्डकीमा एमालेको ४१४२ मतभार हुँदा गठबन्धनको ४८९० छ । अन्य दलको ४७४ छ । गठबन्धन बहुमतमा देखिन्छ । एमालेले गण्डकीमा पनि विगतको सिट गुमाउँदैछ ।

लुम्बिनीमा एमालेको ३२७६ मतभार हुँदा गठबन्धनको ४२०६ छ । अन्यको २७८ छ । लुम्बिनीमा पनि एमालेले सिट गुमाउने देखिदैछ । लुम्बिनीमा २ जना एमाले सांसदको कार्यकाल सकिदैछ । विभाजनको असर परेबाट एमालेले गठबन्धनसँग लड्दा कम्तिमा १ सांसद सिट गुमाउनसक्छ ।

कर्णालीमा एमालेलाई सबैभन्दा ठूलो धक्का परेको छ । त्यहाँ उसको मतभार १४३४ र गठबन्धनको २८९८ छ । अन्यको १९२ मत छ । कर्णालीमा एमाले विभाजनको सबैभन्दा ठूलो नोक्शान देखिन्छ । कर्णालीका हस्ती नेताहरुले एमाले त्यागेर नेकपा एस स्थापनामा माधव नेपाललाई साथ दिएका थिए । यसको असर राष्ट्रिय सभा निर्वाचनमा देखिने अवस्था छ । कर्णालीमा कार्यकाल सकिन लागेका एमालेका १ सांसद छन् । मतभारको हिसाबले उक्त सिट जोगिने स्थिति छ ।

सुदूरपश्चिममा पनि एमाले विभाजनको ठूलो असर परेको छ । एमाले विभाजनपछि मतभार घटेर १७८८ मा सिमित भएको छ । गठबन्धनको मतभार ३५२५ छ । अन्यको ८४ छ । एमालेले यो प्रदेशबाट कम्तिमा २ सांसद सिट गुमाउने निश्चित छ । कार्यकाल सकिन लागेका ३ राष्ट्रिय सभा सांसद सुदूरपश्चिमका हुन् । जसमध्ये एक एमालेका छन् ।

एमाले विभाजनका कारण प्रदेश १ मा उसले खाली हुन लागेको उसको ३ सिटमध्ये कम्तिमा १ गुमाउनुपर्ने देखिन्छ । गठबन्धन अन्य दलसँग मिलेर २ सिट नै गुमाउने अवस्था बन्न सक्छ । प्रदेश २ मा पनि गठबन्धन र अन्य दल मिलेमा रहेको १ सिट पनि गुम्न सक्छ । लुम्बिनीमा पनि १ सिट गुम्न सक्छ । कर्णाली र सुदूरपश्चिममा पनि एमालेको राष्ट्रियसभामा यसअघि जितेको सिट गुम्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्