Logo

सभापतिमा देउवाको दोस्रो ईनिङ्स सुरु भयो, सेञ्चुरी नहानेपनि हाफ सेन्चुरी हान्ने अवस्थामा पुर्याउँछौं : धनराज गुरुङ (भिडिओ)



काठमाडौं, २ पुस । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले अब पार्टीमा रुपान्तरणको अभियान पार्टी सभापति शेरबहादुर देउवाबाट सुरु गर्ने बताएका छन् । उनले भने,‘हामीले रुपान्तरणको आवाज उठाउँदै आएका थियौं, यो आवाजलाई महाधिवेशन प्रतिनिधिहरुले सुनिदिनुभयो, अब कामले सावित गर्नुपर्ने बेला आएको छ । रुपान्तरणको कुरा शब्दजालमात्रै थियो भन्ने परिस्थिति बन्यो भने हामी नालायक बन्छौं । पार्टीभित्रको पहिलो रुपान्तरण हुनुपर्छ भनेर महाधिवेशनको मैदानमा यो नारा घन्काएर लिएका थियौं । हामीले रुपान्तरण र परिवर्तनको पक्षमा मत माग्यौं । हामी विजयी पनि भयौं । रुपान्तरणको अभियान हामीले सभापतिबाट सुरु गर्छौं ।’

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले नवनिर्वाचित उपसभापति गुरुङलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिन आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने–‘शेरबहादुर देउवाजीले हिजो एक कार्यकाल बिताउनुभयो । अब दोस्रो कार्यकालको यात्रा प्रारम्भ भएको छ । क्रिकेटमा टेस्ट म्याच हुन्छ, एउटै ब्याट्सम्यानले पहिलो र दोस्रो ईनिङ्स ब्याटिङ गर्नुहुन्छ । टेष्ट म्याचमा पनि पहिलो इनिङ्स्मा डकआउट हुनेले दोस्रोमा सेन्चुरी हान्ने गरेको छ । अहिले सभापतिमा देउवाको दोस्रो ईनिङ्स सुरु भयो । हामी पनि ब्याट्सम्यान छौं। अब उहाँले सेञ्चुरी नहानेपनि हाफ सेन्चुरी हान्नुहुन्छ, हामी उहाँलाई यो ठाउँमा पुर्याउँछौं । विधि र विधानबमोजिम चल्ने पार्टी बनाउँछौं। हिजो हामीले विधि र विधान मिच्यौं, २ महिनाभित्र विभाग गठन गर्ने कुरा विधानमा लेखिएको छ । तर, पाँच वर्ष पुग्दा पनि विभाग गठनको लागि पत्राचार भैरहेको छ। हामी विधि र विधानअनुसार पार्टी चलाउने पक्षमा छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै गुरुङले आफुहरुपनि अब अग्निपरीक्षामा रहेको सुनाए । ‘हामी अग्निपरीक्षामा छौं, रुपान्तरण भनेको पद्धतीअनुसार चल्ने पार्टी बनाउँछौं । विधि र पद्धती स्थापित गर्ने पक्षले भागबण्डा खोज्दैन्’–उनले भने‘यो महाधिवेशनमा हाम्रो विचार समूहले ४० प्रतिशत मत पायो । हाम्रो प्यानलले लोकप्रिय मत पायो । भागबण्डामा हात थाप्न थाल्यौं भने हामी पनि पूरातनवादी भैहाल्छौं । महािधेवशनको दौरान चुनावी मैदानमा प्यानल बन्यो । अर्को समूहले ६० प्रतिशत मत पायो र हाम्रो समूहले ४० मत पायो । म ४० प्रतिशतको मात्रै उपसभापति होईन । सभापति देउवा पनि पनि ६० प्रतिशतको पनि होईन । सबैको सभापति हो । हामी पनि सबैको हो । पार्टीमा भागबण्डा हुँदैन् ।’

जनजनसम्म कांग्रेसलाई कसरी पुर्याउनुहुन्छ ? भन्ने पत्रकार धमलाको प्रश्नमा उनले राम्रो काम गरेर अघि बढ्ने बताए । गुरुङले भने–‘जनजनको मनमनमा बस्ने कांग्रेस बनाउनको लागि, जनतासँग जोड्ने कुरा के–के हुन ? यो नियाँलेर जानुपर्छ । कुशासनले जनता वाक्क दिक्क भएका छन् । नेपालको राजनीति विकृति र विसंगतिको थलो बनेको छ। नेताहरुको नाम ठूलो–ठूलो भ्रष्टाचारको काण्डमा जोडिएको छ । अरबौंको भ्रष्टाचारमा । भ्रष्टाचारका फाईल अख्तियारको दराजमा छन्, त्यहाँ तोड्न सक्नुपर्छ । अब भन्नेमात्रै होईन, गर्ने ठाउँमा हामी पुगेका छौं । पार्टीलाई जनतासँग जोड्ने कुरा छन्, यसमा जनताले दुःख पाएको ठाउँमा हित गर्ने हो । भ्रष्टाचार भनेको कुशासन हो। अहिले सुशासन प्राप्त भएको छैन् । अब हाम्रो रोडम्याप सुशासनबाट सुरु हुन्छ । अलमलिने नेताले गन्तव्य प्राप्त गर्न सक्दैन् । हाम्रासामू पनि अवसर र चूनौति दुवै छन् । चूनौतिलाई म अवसरमा बदल्ने साहस लिएर आएको हुँ । जनताको बीचमा कांग्रेसलाई लोकप्रिय बनाउनको लागि काम गर्नुपर्छ । ३७ प्रतिशतको कांग्रेसलाई ५१ प्रतिशतको कांग्रेस बनाउने हो । हामीसँग कार्यक्रम छ। हामी यो लागु गर्छौं ।’

उनले मुलकमा राजनीति व्यवस्था बदलिएको भएपनि जनताको अवस्था त्यस्तै रहेको सुनाए । उनले मुलुकमा विकृति र विसंगति कुरुप रुपमा झाँगिएको पनि सुनाए । उनले भने,‘यसलाई अन्त्य गर्नुपर्छ । यदि यो लागु गरिएन भने महाधिवेशन प्रतिनिधिहकरुले दिएको मत र जिम्मेवारी बोक्न नसकेको ठहरिन्छ ।’

गुरुङले नवनिर्वाचित समिति आउन लागेको उल्लेख गर्दै सरकार पनि नयाँ ढंगले चल्न आवश्यक रहेको सुनाए । उनले भने–‘यो सरकार त संविधान जोगाउने क्रममा बाई–प्रोडक्ट हो । यो संयुक्त सरकारलाई हाम्रो पार्टीबाट के सहयोग गर्नुपर्छ ? त्यो हामी गर्छौं । सरकारले घिनलाग्दो र नराम्रो काम नगरिदिए हुन्छ । अहिलेसम्म जुन जोगी आएपनि कानै चिरेको भन्ने भैरहेको छ । ओलीजी प्रधानमन्त्री हुँदा संसद्को ढोका बन्द गरेर अध्यादेशमार्फत देश चलाउनु भयो । हाम्रो सभापति देउवा प्रधानमन्त्री भएपछि पनि संसद्को ढोका बन्द गरेर देश चलाउन खोज्नुभयो । हामीले विरोध गरेको हो । हिजोको सरकार र आजको सरकार उस्तैउस्तै पदचापमा अघि बढ्ने हो भने त्यो परिवर्तन होईन । हामी कांग्रेसको नेतृत्वमा आईसकेको अवस्था छ । सरकार अब सजग हुनुपर्छ । लोतेपोतेबाट चल्नुहुँदैन् । सरकारले नयाँ ढंगबाट चल्न आवश्यक छ।’

देउवा प्रधानमन्त्री हुँदा आफूहरु विचारको समूहको रुपमा बधाई दिन गएको स्मरण गराउँदै त्यतिवेला पनि प्रधानमन्त्रीको रुपमा पाँचौं कार्यकालमा स्मरणयोग्य काम होस भनेर भनेको सुनाए । उनले भने–‘यहाँको चार कार्यकाल स्मरणयोग्य भएन । अब पाँचौ कार्यकाल वाह देउवा बनाउनुहोस । खोपसँगैसँगै भ्रष्टाचारको काण्डहरु एक÷दुई वटा फाईल खोल्न निर्देशन दिनुहोस भनें । तर, अहिलेसम्म भ्रष्टाचारको फाईल खोलेको कुरा सुन्न पाईनँ । भ्रष्टाचारको फाईल खोल्ने हो भने क्यान्टोनमेन्टबाट खोल्नुपर्यो भन्ने कुरा आयो । सर्पको खुट्टा सर्पले देख्छ भनेजस्तै हो । अब छुट यो सरकारलाई हुनेछैन् । देखावटी काम गर्ने होईन । सारमा काम गर्न आवश्यक छ। हामी सरकारलाई सकारात्मक सुझाव दिन्छौं । सरकारलाई पनि मोडालिटी चेन्ज गरेर अघि बढ्नुहोस भन्ने आग्रह हुन्छ।’

उनले निर्वाचन अग्निपरीक्षा भएको बताउँदै अबको निर्वाचन कांग्रेस एक्लैले लड्ने पनि बताए । उनले भने–‘हिजो कांग्रेसले क–कसको बैशाखी टेक्यो, त्यो ईतिहास हो । तर अब कांग्रेसलाई कसैको बैशाखी चाहिँदैन् । एक्लै चुनाव लड्छ। चुनावी मैदानमा पुगेर ५१ प्रतिशत पुर्याउन चाहन्छौं । बैशाखी टेकेर सवल खुट्टा टेकेको पार्टीसँग लड्न सकिँदैन् । हाम्रो दुवै खुट्टा सवल छन् । यो भुल अब हुँदैन् । विगतमा भयो होला । विगतमा कांग्रेसीहरुले रुँदै अर्को चुनाव चिन्हमा भोट हाले होलान् । हामी अब प्रतिवाद गर्छौं । हामी विधि, विधान, सिद्धान्त र आर्दशबमोजिम नेपाली कांग्रेसलाई हाँक्छौं, यसैगरि पार्टी जनताको पक्षमा पुग्छ । हाम्रो कार्यक्रम लिएर चुनाव जित्छौं ।’

उनले जनताको बीचमा व्यक्तिको अनुहार लिएर जाने भन्दा पनि विचार र सिद्धान्त लिएर जाने बताए । उनले भने,‘विचार समूह र प्यानल त निर्वाचनको मैदानमा थियो । अब सबैलाई गोलबन्द गरेर अघि बढ्ने हो । डा. मिनेन्द्र रिजालले नैतिकताको रुपमा राजीनामा दिनुभयो । राम्रो गर्नुभयो। उच्च नैतिकताको आधारमा राजीनामा गरेको हो।’ उनले पार्टीभित्र अब सत्ता र प्रतिपक्ष नरहेको पनि जिकिर गरे । उनले भने,‘हामी खेलको मैदानबाट बाहिरियौं । देउवा सबैको सभापति हो । धनराज, विश्वप्रकाश र गगन थापा पनि सबैको हो।’

उनले प्रकाशमानजी त्यागको प्रतिमुर्ती गणेशमान सिंहको सुपुत्र भएको उल्लेख गर्दै उनले भने,‘प्रकाशमानजी गणेशमानजीको पुत्र हो, उहाँको त राजनीतिक संस्कारको पाठशालको घर नै थियो नि । मेरो बाल्यकालको कुरा गर्दा म त गोवर सोहोरेर आएको हुँ । प्रकाशमानजीलाई सानैदेखि राजनीतिक संस्कारको पाठशालको घर नै बन्यो । त्यो पाठशालामा हुर्किएको व्यक्तिलाई । अहिले म केही भन्न चाहन्नँ ।’ उनले नवनिर्वाचत सभापति देउवालाई आफूहरुजस्तै बनाएर अघि बढाउने र रुपान्तरण गर्ने पनि विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्