काठमाडौं, ३ पौष । नेपाली काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दालाई सशक्त रुपमा उठाउने नेता थिए खुमबहादुर खड्का । उनको निधनपछि यो मुद्दालाई शंकर भण्डारीलगायतका नेताहरुले उठाइराखे । महाधिवेशनको ठिक अघि भण्डारीले सार्वजनिक रुपमै जस्ले हिन्दुराष्ट्रको मुद्दा बोक्छ उही काँग्रेस सभापतिको चुनाव जित्छ भने ।
काँग्रेसको १४औं महाधिवेशनको उदघाटनमा बोल्दै महामन्त्री डा. शशांक कोइरालाले धर्मको मुद्दा उठाए । उनले व्यक्तिगत रुपमा आफू धर्मनीरपेक्ष हटाउने पक्षमा रहेको बताए । राज्य धर्मनीरपेक्ष नहुने बरु धार्मिक स्वतन्त्रता हुने उनको तर्क थियो ।
काँग्रेसको पदाधिकारीसम्मको चुनावी परिणामलाई हेर्दा धर्मको मुद्दा झन् कमजोर भएको देखिन्छ । विगतमा धर्मको मुद्दा उठाएका डा. शेखर कोइराला सभापतिमा पराजित भए । उनले पनि हिन्दु धर्मको मुद्दाको व्यवस्थापनबारे बोलेका थिए । सभापति निर्वाचित शेरबहादुर देउवा धर्मको मुद्दामा मौन रहँदै आएका छन् ।
सभापतिमा पराजित प्रकाशमान सिंह पनि पछिल्लो समय धर्मको मुद्दामा मौन छन् । विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी घोषणा हुँदा धर्मगुरुहरुको आशिर्वाद लिएका थिए । यसले राजनीतिवृत्तमा तरंग आएपनि उनी यो मुद्दाको पक्षमा देखिएनन् ।
उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का पनि धर्मको मुद्दामा मौन छन् । धनराज गुरुङ धर्मनीरपेक्षताको पक्षधर हुन् ।
महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मा देशमा गणतन्त्र नआउँदैका गणतन्त्रवादी हुन् । दुवै धर्मनीरपेक्षताका पक्षधर हुन् । सहमहामन्त्रीमा पनि धर्मबारे मौन या धर्मनीरपेक्षताका पक्षधर नै निर्वाचित भएका छन्
काँग्रेसको चुनावी परिणामले अब उसले हिन्दुराष्ट्रको विषयबारे पार्टीभित्र छलफल गर्ने सम्भावना कम भइसकेको छ । काँग्रेस अब अहिलेको परिवर्तनलाई जोगाएर अगाडि बढ्ने लाइनमा देखिएको छ ।