Logo

भुटानी शरणार्थीहरुलाई सुरेन्द्र केसीको आश्वासन : ‘संकट र अप्ठ्यारो पर्दा तपाईँहरु राज्यविहीन हुनुहुन्न, हामी छौं’



सीपी मैनाली भन्छन्–‘नेपालमा रहेका ७ हजार भुटानीहरुलाई हामी ठाउँ दिन सक्छौं’
भुटानी शरणार्थीहरु गैरआवासी नेपाली हुन : स्वागत नेपाल

काठमाडौं, ३ पुस । भुटानी शरणार्थीहरुको समस्या समाधानको लागि सरकारले महत्वपूर्ण पहलकदमी लिनुपर्नेमा जोड दिईएको छ । नेकपा (माले) का महासचिव सिपी मैनाली, राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी, अधिवक्ता स्वागत नेपाल, पत्रकार ऋषि धमला र नायक दिलिप रायमाझीले भुटानी शरणार्थीहरुको समस्या दीर्घकालिन रुपमा समाधानबारे आ–आफ्नो धारणा राखेका थिए ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै ईन्ट्रा–नेश्नल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाका सिईओ डिल्ली अधिकारीले भुटानी शरणार्थी पनि वीर पूर्खाका सन्तती रहेका भन्दै ३०औं वर्षसम्म पनि भुटानी शरणार्थीहरुको समस्या समाधान नभएकोमा दुःख व्यक्त गरेका छन् ।

भुटानको निरङ्कुश सरकारले आफूहरुलाई लखेटेको उनले स्मरण गराए । उनले भने,‘आजभन्दा २५ वर्ष भन्दा अगाडी नेपाली भाषालाई बचाउन यो आन्दोलनको सुरु भएको थियो । भुटानी शरणार्थीहरुलाई नेपालमा शरण दिएकोमा हामी नेपाल सरकारलाई धन्यवाद दिन्छौं ।’ उनले ७ हजारको हाराहारीमा झापा र मोरङमा रहेका भुटानी शरणार्थीको अवस्था निकै नाजुक रहेको भन्दै त्यसतर्फ ध्यान दिन सरकारसँग आग्रह गरेका थिए ।

‘उहाँहरुलाई दातृ निकायले पनि सहयोग गर्न छाड्यो । उहाँहरुलाई कसैले पनि सहयोग नगरेपछि म ‘इन्टरनेश्नल वेल्फेर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को तर्फबाट उनीहरुको आवाज उठाउन यहाँ आएको हुँ’–उनले भने । ३०औं वर्षसम्म उक्त समस्या समाधान नहुँदा नेपाल सरकारले पनि ध्यान नदिएको हो की भन्ने लागेको उनले गुनासो पोखे । विश्वका जुनसुकै कुनामा रहेका भुटानी शरणार्थीहरुको रगतमा नेपाल रहेको उल्लेख गरे ।
‘सरकारले नेपालमै बस्न चाहनेको लागि व्यवस्था गरोस, भुटान फर्किने चाहनेको लागि भुटानसँग वार्ता गरोस, तेस्रो देशमा जान चाहनेको लागि पनि सोहीअनुसारको व्यवस्था गरोस’–उनले भने ।

साथै, उनले भुटानी शरणार्थीलाई एनआरएनएको सदस्यता नदिईएको भन्दै दुःख व्यक्त गरे । उनले नेपालीभाषी भुटानी शरणार्थीहरुलाई पनि नेपालको परिचय दिइनुपर्ने भन्दै यसमा पनि पहल गरिदिन सरकारसँग जोडदार माग गरेका थिए । ‘अमेरिकामा १०औं वर्ष बसेकाहरुका छोराछोरीले चाहीँ सजिलै एनआरएनएको सदस्यता पाउँछन् तर, जम्मा दुई पुस्ता भुटानमा बसेका नेपाली भाषीहरुलाई त्यसबाट बञ्चित बनाउनु दुःखद कुरा हो’–उनले भने ।

यस्तै, उनले नेपाली भाषीलाई नै विभाजित रुपमा हेरे चार जात ३६वर्ण भन्नुको कुनै अर्थ नरहने टिप्पणी गरे । ‘नेपालसँगको हाम्रो सम्बन्ध निकै गाढा छ भन्न पाइयोस’–उनले भने ।

नेकपा (माले) का महासचिव सिपी मैनालीले नेपालमा रहेका भुटानी शरणार्थीहरुको हकमा सरकारले आवश्यक कदम चालेर समस्याको समाधान गर्न सक्ने व्यक्तिगत सुझाव अघि सारे । उनले भने–‘भुटानी शरणार्थीहरुलाई स्टेटलेश बनाईयो । अहिले नेपालमा भुटानी शरणार्थीहरु थोरै छन् । बरु, बोर्डर रेगुलेट गरौं । रोहिङ्गयाको पीडा भारत र बंगलादेशले हेर्ने हो । अहिले नेपालमा ७ हजार भुटानी शरणार्थीहरु रहेको तथ्यांक यहाँ सुनाईयो, उनीहरुलाई एकीकृत गरे हुने हो । ७ हजार भुटानीहरुलाई हामी ठाउँ दिन सक्छौं ।’

उनले भुटानीहरु किन शरणार्थी बने ? भन्ने विषयबारे पनि चर्चा गरेका थिए । उनले भने,‘उनीहरु किन थर्ड कन्ट्रीमा जानुपर्यो ? थर्ड कन्ट्री सेटलमेन्टमा जानुभयो । विशेषगरि अमेरिकाको ओहावो राज्यमा छन् । भुटानी शरणार्थीहरु पनि गैरआवासीय नेपाली संघमा हुनुपर्छ भन्ने कुरा आयो, यहाँ उठाईएका समस्या समाधानबारे गम्भीर रुपमा छलफल हुनुपर्छ ।’

उनले आफूभन्दा अघि बोल्ने वक्ता डा. केसीको भनाईअनुसार भुटान सरकारको निवेदनमा नेपालीहरु श्रमिकको रुपमा भुटान गएको दोहोर्याए । उनले भने,‘अघि डा. केसीले भन्नुभयो, भुटान सरकारको निमन्त्रणामा नेपालीहरु भुटान गएका हुन् । उहाँले झुठो कुरा बोलेको होईन् होला, तराईको आबादीको लागि विहारबाट बोलाएका थियौं । लामो समयदेखि कर्मभूमि बनाउनेले नारिकता दाबी गर्नु स्वभाविक थियो ।’

भुटानका शासकहरुलाई डर भएर नेपाली भाषी भुटानीहरुलाई लखेट्ने काम गरेको पनि उनले सुनाए। उनले भने–‘भुटानीहरुको विस्थापितलाई भारतले शरण दिनुपर्दथ्यो । अथवा फिर्ता पठाउन भूमिका खेल्नुपर्दथ्यो। भारतले खाली ट्रकमा चढाएर नेपालको सिमानामा मेची क्रस गराएको हो । उनीहरु आसाम जान सक्थे । मेघालय जान सक्थे । भारतले सम्पूर्णलाई ढ्यांग्रे ट्रकमा राखेर मेची पुलमा फ्याँकिदियो । त्यो भारतको नेग्लिेजेन्स थियो। भारतले नेपालमाथि समस्या थोपरिदिने प्रयास गर्यो । भुटानको विदेश नीति भारतद्धारा निर्देशित हुन्छ। सुरक्षा पनि उसकै निर्देशित हो । भुटानका शासकलाई खुशी पार्ने र उसलाई अझै खुशी पार्ने भारतको रणनीति छ। भुटानमा आफ्नो सेना राखेर, छिमेकीलाई असुरक्षित पार्ने अनि भुटानी शासकलाई खुशी पारेर भारतका शासकले काम गरे । नेपाल सबैको जायज स्वार्थमा अघि बढ्नुपर्छ ।’

उनले भारतले भुटानी शरणार्थी फिर्ता लिने सल्लाह भुटानलाई नदिएको सुनाए । उनले भने,‘नेपाली भाषीलाई हटाउने स्वार्थ भुटानी शासकमा थियो । भारतले दबाब दिएको भए भुटानलाई कर लाग्दथ्यो । उनीहरु भुटानमै सेटल हुन सक्दथे । जानीजानी हामी फस्ने काम गर्यौं। भारतमा धेरै नेपालीहरु छन् । दोस्रो विश्वयुद्धभन्दा अघि नै नेपालीहरु त्यहाँ छन् । भुटानबाट आउनेहरुलाई सजिलै नागरिकता दियौं भने भोलि भारतले करोडौं नेपाली भाषीहरुलाई नेपाल पठायो भने नेपालको हालत के हुन्छ ? हामीहरु राजनीतिक घनचक्करमा पर्यौं ।’ उनले शरणार्थीहरु दुई किसिमको हुने भन्दै भुटानी शरणार्थीहरुलाई स्टेटलेश बनाईएकोमा दुःख पोखे ।

राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले मानवताको नाताले भुटानी शरणार्थीको समस्या समाधानको लागि आफूहरुले पहल गर्ने बताए । उनले भने–‘हामी धेरै अप्ठयारोमा छौं । कमजोर अर्थतन्त्रले हाम्रो दाजुभाईहरुले बाहिरिने क्रम जारी छ । अफ्रिकादेखि ल्याटिन अमेरिकासम्म नेपाली पुगेका छन् । जहाँ जहाँ नेपाली पुगेका छन्, त्यहाँ उसले जोखिमको काम गर्छ । अहिले हाम्रो देशमा ७ देखि ८ देशका शरणार्थीहरु छन् । रोहिङ्ग्या शरणार्थी पनि छन् ।’

उनले नेपालमा आएका भुटानीहरुको फस्ट कन्ट्री भारत भएको उल्लेख गरे । तर, भारतले आफ्नो देशमा नराखेर काँकडाभिट्टा कटाईदिएको स्मरण गराए । उनले भने,‘उहाँहरुमा आफ्नो रगत भएकोले हामीले सहानुभूति थियो । शरणको मरण गर्नुहुँदैन् । भुटानीहरु आफ्नै मूलका हुन । उनीहरुसँग मानवीय र मैत्रीपूर्ण, आतिथ्यपूर्ण व्यवहार गरेका थियौं । यो काम गर्नुपर्ने पहिलो दायित्व भारतको थियो । टेकनाथ रिजालसँग पनि लामो समयसम्म अन्तरक्रिया भयो । किन भुटानी शरणार्थीमाथि यस खालको खेलखाल भएको हो भनेर ? हाम्रो दाजुभाई भएकोले, रगत भएकोले, भुटानबाट उनीहरु के कारणले विस्थापित हुनुपर्यो ? भनेर धेरै छलफल भएका छन् ।’

उनले भुटानको सभ्यता विकास गर्न नेपालीहरुको हात रहेको पनि दाबी गरे । उनले भने,‘भुटानमा सभ्यताको विकास गर्ने र सबै सिकाउने मानिस नै नेपालीहरु हुन्। भुटानका राजाहरुले निमन्त्रणा गरेर, नेपालीहरु गएका हुन् । त्यहाँको सभ्यता नै नेपालीहरुले निर्माण गरेको हो। तर, आज त्यहाँबाट नेपालीहरु विस्थापित हुनुपर्ने के कारण हो ? यसमा राजनीतिक कारण छ भन्ने हाम्रो बुझाई हो । नेपाल आँफै समस्यामा छ् ।’
केसीले अहिले नेपालमा रहेका ७ हजार भुटानी शरणार्थीको लागि आफूले सहयोग गर्ने पन िबताए । उनले राष्ट्रियतामाथि राजनीति गर्न नपाईने पनि जिकिर गरे । उनले संसारभरिका नेपालीहरु एक ठाउँमा रहेको पनि सुनाए । उनले भने,‘हामी सहकार्य गरौं । संकट र अप्ठ्यारो पर्दा तपाईँहरु राज्यविहीन हुनुहुन्न । हामी छौं ।’

 

नायक दिलिप रायमाझीले आफूले नेपाली भाषी भुटानीहरुको समस्या सुन्न थालेको बल्ल पाँच वर्ष भएको भन्दै उनीहरु ठूलो समस्यामा रहेको सुनाए । र, उनीहरुको समस्याको समाधान हुनुपर्ने आवाज उठाए । उनले भने,‘अब यो समस्याको बारेमा मिडियाले पनि आवाज उठाउनुपर्छ । डिल्ली अधिकारीले अघि सार्नुभएको मागमा मेरो समर्थन छ । म यहाँ ऐक्यबद्धता जनाउन आएको हुँ ।’

त्यस्तै कार्यक्रममा अधिवक्ता स्वागत नेपालले भुटानी शरणार्थीहरु गैरआवासी नेपाली नै रहेको बताए । उनले भने,‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल टाकुरा, यो गीत सम्झिरहँदा नेपालीहरुलाई एउटा भ्रम हुन्छ । सर्वोच्च शिखर पुग्ने नेपाली हो भन्ने भ्रम थियो । तेन्जिङ शेर्पा नेपाली रहे त ? सधैं नेपाली रहे ? अन्ततः उनी किन भारतीय नागरिकता लिएर मरे ? अनि हामीले गीत गाउनुपर्ने । शिरिषको फूल लेख्ने पारिजात, एउटा नेपाली नागरिकता नभएको कारण उपचार गर्न नपाएर मर्नुपर्यो । गोपाल भुटानी, जसले जीवनभर नेपालको भाषा र चलचित्रमा काम गर्नुभयो, उहाँ त द्धन्द्ध निर्देशक हुनुभयो, गोपाल भुटानीज्यू पनि उपचार गर्न नपाएर मर्नुपर्यो । तुलसी घिमिरेले नागरिकताको लागि याचना गरिरहनुभयो । अहिले डिल्ली अधिकारीले बोल्दै गर्दा पनि त्यही सुनिन्छ । रगतको आधारमा जाति र नागरिकताको निर्माण हुन्छ भनिन्छ । डिल्ली प्रसाद अधिकारी भन्ने नाम बेलायतमा भेटिन्छ ? सिपी मैनाली भन्ने नाम के कोरियामा हुन्छ ? यो यहीँको पहिचान हो ।’

उनले भुटानी शरणार्थीहरु एनआरएनए नै भएको दाबी गरे । उनले भने,‘उहाँहरुको सम्बन्धमा नेपाल सरकारले गम्भीर रुपमा सोच्नुपर्छ । अन्तर्राष्ट्रिय अभ्यासबमोजिम हामी एउटा रिट निवेदनमा जाने तयारीमा छौं ।’

 



प्रतिक्रिया दिनुहोस्