Logo

काँग्रेस महाधिवेशनमा विरासतबाट आएकाहरुलाई धक्का, नेविसंघ र तरुण दलको नेतृत्व गरेकाहरु हावी



काठमाडौं, ४ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नेतृत्वमा पुगेकाहरु हावी भएका छन् । काँग्रेसको महत्वपूर्ण भातृसंस्था नेविसंघ र तरुण दलको नेतृत्वमा विगत र वर्तमानमा रहेकाहरु पदाधिकारी र कार्यसमितिमा चयन भइसकेका छन् । कतिपयको जीत सुनिश्चित जस्तै भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा नेविसंघका पूर्व सभापति हुन् । उपसभापति निर्वाचित पूर्णबहादुर खड्का र धनराज गुरुङ पनि नेविसंघको राजनीतिबाट आएका हुन् ।
महामन्त्री निर्वाचित विश्वप्रकाश शर्मा नेविसंघका पूर्व सभापति हुन् । महामन्त्री निर्वाचित गगन थापा नेविसंघका पूर्व महामन्त्री हुन् ।

सहमहामन्त्रीमा निर्वाचित महेन्द्र यादव तरुण दलका पूर्व अध्यक्ष हुन् । सहमहामन्त्रीमा निर्वाचित भीष्मराज आङदम्बे र बद्री पाण्डे पनि नेविसंघको राजनीतिबाट आएका हुन् ।

नेविसंघका पूर्व सभापति गोविन्द भट्टराई र नैनसिंह महर पनि केन्द्रीय सदस्यमा निर्वाचित हुने निश्चितप्रायः भएको छ । तरुण दलका पूर्व अध्यक्ष बालकृष्ण खाँड, उदय शमशेर राणा र वर्तमान अध्यक्ष जीतजङ्ग बस्नेत पनि लोकप्रीय मतका साथ जित्ने निश्चितप्रायः देखिएको छ । नेविसंघ अध्यक्ष राजीव ढुंगाना पनि जित्ने सम्भावना देखिएको छ ।

विद्यार्थी राजनीतिबाट आएका कुन्दनराज काफ्ले, उमेशजङ्ग रायमाझी पनि केन्द्रीय सदस्यको मतगणनामा ३५ भित्र छन् । मनोजमणि आचार्य केही पछि छन् । क्षितिज भण्डारी, दिपक भट्टराईलगायत पूर्व विद्यार्थी नेता केही पछि परेका छन् ।

यसपटक विरासतको राजनीतिबाट आएकाहरु पदाधिकारीमा निर्वाचित भएनन् । केन्द्रीय सदस्यमा भने केही नेताहरु निर्वाचित हुँदैछन् । डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, सुजाता कोइराला, महेश आचार्य जस्ता काँग्रेस राजनीतिमा पारिवारिक पृष्ठभूमी भएकाहरु पराजित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्