काठमाडौं, ४ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यको ३५ सिटका लागि भएको चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । ३५९५ मत गणना भइसकेको छ । अब एक हजार मत गन्न बाँकी छँदा कतिपयको जित सुनिश्चित भइसकेको छ ।
केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत डा. सशांक कोइरालाले प्राप्त गरेका छन् । उनले २९४० मत प्राप्त गरेर विजत सुनिश्चित गरेका छन् । दोस्रो नम्बरमा रहेका एनपी साउनको २२६१, तेस्रोमा रहेका बालकृष्ण खाँणको २२०७, चौंथो नम्बरका उदय शमशेर राणाको २१६७ र पाचौं नम्बरका रामहरि खतिवडाको २१४७ मत छ । सबैको जित सुनिश्चत भइसकेको छ ।
काँग्रेसका पाका नेता अर्जुननरसिंह केसी २०३०, गोपालमान श्रेष्ठ १९५२ मतसहित टप टेनमा छन् ।
नयाँ पुस्ताका उदय शमशेर राणा, जितजंग बस्नेत, नैनसिंह महर, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले टप ट्वेन्टीमा छन् । राप्रपाबाट काँग्रेस प्रवेश गरेका सुनिलबहादुर थापा १४औं नम्बरमा छन् ।
तराई मधेशका पद्मनारायण चौधरी २३औं नम्बरमा छन् । उनको जीनको सम्भावना बढेको छ । डा. गोपाल दहित ३४औं नम्बरमा छन् । गणेश लामा ३२औं नम्बरमा छन् ।
काठमाडौं उपत्यकाबाट उदय शमशेर राणा, जितजंग बस्नेत र मदनबहादुर अमात्य जितको नजिक छन् ।