Logo

१७ हजार स्थायी शिक्षकले जागिर खाँदै



काठमाडौं। शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो ।

आयोगले यो साता निमावि र अर्को साता प्रावि तहको विज्ञापन गर्ने तयारी गरेको छ। आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले दुई साताभित्र सबै तहको विज्ञापन खुला भइसक्ने जानकारी दिए।

उनका अनुसार निमावि तहमा २ हजार ५ सय ९६ र प्रावि तहमा लागि १३ हजार ८९ शिक्षकको विज्ञापन खुला गर्ने तयारी छ। ‘सबै गरी १७ हजार ३ सय ३२ शिक्षकका लागि विज्ञापन खुला गर्न लागेका हौं’ –सूचना अधिकारी मरहठ्ठाले भने। निमावि तहमा १० विषयको शिक्षकको विज्ञापन खुला हुन्छ। आयोगले यसपटकबाट परीक्षणका रूपमा अनलाइन ध्यमबाट मावि तहको आवेदन लिएको छ।

आवेदकको संख्या एकैपटक बढ्न सक्ने र सर्भरले काम गर्न नसक्ने भयले चरणबद्ध रूपमा विज्ञापन गर्न लागिएको सूचना अधिकारी मरहठ्ठाको भनाइ थियो। पछिल्लो तथ्यांकअनुसार मावि तहमा करिब ५ सयले अनलाइनबाट आवेदन फारम भरिसकेका छन्। तीमध्ये ९७ जनाले भौचर लिएको सूचना अधिकारी मरहठ्ठाको भनाइ छ। आयोग मावि तहको परीक्षा चैत १५ मा गर्ने तय गरिसकेको छ।

माध्यमिक र निम्न माध्यमिक तहभन्दा बढी प्राथमिक तहका आवेदक बढी हुन सक्ने आयोगको तथ्यांक छ। मावि र निमावि तहको फारम भर्ने प्रक्रिया सकिएपछि मात्रै प्राविको विज्ञापन खोल्ने आयोगको तयारी छ । मावि तहमा पुस २९ गतेसम्ममा आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर आगामी माघ ६ गतेसम्म आवेदन भर्न सकिन्छ।

राज्यले हाल माध्यमिक र आधारभूत तह गरी दुई तहको शिक्षा निर्धारण गरिसके पनि आयोग अझै पुरानै तीन तहमा विज्ञापन आह्वान गर्दै छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तीन तहका शिक्षकको संख्या तोकेर पठाएपछि सोही आधारमा विज्ञापन गरेको आयोगको भनाइ छ। आयोगले स्थायीबाहेक २०३८ साल पुस २९ गतेभन्दा यता जन्मिएकाले मात्र आवेदन दिन पाउने व्यवस्था उल्लेख गरेको छ। नेपाल समाचरपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्